अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै

–राधिका बुढाथोकी
कमलामाई (सिन्धुली)। स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् । सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो । 

मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि मङ्गलबार शिलान्यास गरिएको छ। सांसद लेखनाथ दाहालले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरे । आगामी आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा सक्ने गरी स्काइ विल्डर्स प्रालि नयाँबानेश्वर, काठमाडौँले भवन निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनीले २०७९ पुस २५ गते अस्पताल भवन निर्माण सम्झौता गरेको थियो । रु १६ करोड ७१ लाख ५८ हजारको लागतमा निर्माण हुने भवन तीन तलाको हुनेछ । उक्त लागत बजेट सङ्घीय सरकारले उपलब्ध गराएको हो । चार हजार सात सय ४० दशमलव ८४ वर्गमिटर क्षेत्रफलमा अस्पताल निर्माण कार्य अगाडि बढेको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताए ।

सात वडा रहेको मरिणमा छ सामुदायिक स्वास्थ्य एकाइ, दुई स्वास्थ्यचौकी, एक–एक प्रथामिक स्वास्थ्य केन्द्र र आयुर्वेदिक औषधालय छन् । मरिण–६ छापस्थित पाँच शय्याको अस्पताल भवनबाट १५ शय्याकै स्वास्थ्य सेवा कठिनपूर्वक प्रदान हुँदै आएको थियो । अब १५ शय्याकै अस्पताल भवन निर्माण हुने भएपछि मरिणवासीले स्वास्थ्य सेवा सहजरूपमा पाउने मरिण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले बताए । 

यसैगरी जग्गा विवादका कारण दुई वर्षदेखि १५ शय्याको अस्पताल भवन निर्माणको काम रोकिएको सुनकोशी गाउँपालिकामा अहिले निर्माण प्रक्रिया अगाडि बढेको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाले जानकारी दिए । सात वडा रहेको सुनकोशीमा ११ स्वास्थ्य संस्था छन् । अब दुई सामुदायिक स्वास्थ्य एकाइ थप गर्नुका साथै १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न गरी सेवा विस्तार गरेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन खोजिएको उनले बताए ।  

यसैगरी गोलञ्जोर गाउँपालिकामा पनि यस वर्ष आधारभूत अस्पताल निर्माणका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भएपछि कार्यपालिकाको बैठकपछि निर्माण प्रक्रिया अगाडि बढाइने स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र पैकराले जानकारी दिए ।

फिक्कल गाउँपालिका–३ चनौटेमा १० शय्याको अस्पताल भवन निर्माणाधीन छ । दुई वर्षअघि निर्माण सुरु भएको उक्त भवनको ८० प्रतिशत काम सकिएको स्वास्थ्य शाखा प्रमुख लेखनाथ फुँयालले बताए । निर्माणको काम सम्पन्न गर्न यस वर्ष रु ९० लाख बजेट थप भएर आएको उनले सुनाए । छ वडा रहेको फिक्कलमा छ स्वास्थ्यचौकी र १० सामुदायिक स्वास्थ्य एकाइ छन् । हालसम्म उक्त गाउँपालिकामा दक्ष चिकित्सकसहितको अस्पताल नहुँदा बिरामीले भरपर्दो उपचारका लागि अन्यत्र धाउनु परिरहेको छ ।

यसैगरी हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरमा १५ शय्याको आधारभूत अस्पताल निर्माणाधीन छ । सिर्नजी राजदेवी भक्त आरपी जेभीले निर्माणको जिम्मा लिएको छ । आठ वडा रहेको हरिहरपुरगढीमा चार स्वास्थ्यचौकी, पाँच सामुदायिक स्वास्थ्य एकाइ र चार आधारभूत केन्द्र छन् । यी नामका मात्रै स्वास्थ्य संस्था छन् । राम्रो उपचार गर्न बिरामीलाई अस्पताल खोज्दै अन्यत्र जानुपर्ने अवस्था छ । पालिकाले आफ्ना नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन १५ शय्याको अस्पताल बनाउन सुरु गरेको छ । 

दुधौली नगरपालिका–५ सिर्थौलीमा १५ शय्याको अस्पताल निर्माणाधीन छ ।  अस्पताल निर्माणकार्य अन्तिम चरणमा पुगेको स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डलले बताए । “अस्पताल भवन निर्माण पूरा गरेर अबको एक महिनाभित्र सञ्चालनमा ल्याउने योजना छ”, उनले भने । सङ्घीय सरकारको रु १६ करोड लागतमा अस्पताल निर्माण भइरहेको छ । यहाँ हाल १६ स्वास्थ्य संस्थामार्फत सेवा प्रदान गरिँदै आएको छ । तर भरपर्दो सेवा नहुँदा बिरामीले अन्यत्र धाउनुपर्ने बाध्यता छ ।
 
घ्याङलेख गाउँपालिका–३ सोलाभञ्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन । जग्गा विवादका कारण रोकिएको निर्माणकार्य चाँडै सुल्झाएर निर्माण अगाडि बढाइने पालिकाले जनाएको छ । पाँच वडा रहेको दुर्गम पालिकामा पाँच स्वास्थ्यचौकी र पाँच सामुदायिक स्वास्थ्य एकाइ छन् । पन्ध्र शय्याको अस्पताल निर्माण भएर प्रभावकारीरूपमा सञ्चालनमा आए सामान्य बिरामी हुँदा पनि सदरमुकाम धाउन नपर्ने स्थानीयवासी बताउँछन् । 

सिन्धुलीकै सबैभन्दा ठूलो सिन्धुली अस्पताल जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा छ । यहाँ सात स्वस्थ्यचौकी र नौ आभारभूत स्वास्थ्य केन्द्र छन् । जिल्लामा सञ्चालनमा रहेकै अस्पताल तथा स्वास्थ्य संस्थाले पनि सहजरूपमा गुणस्तरीय सेवा दिन सकेका छैनन् । सामान्य बिरामी हुँदासमेत अन्य सहरका स्वास्थ्य संस्था तथा अस्पताल धाउनुपरेको स्थानीयवासीको गुनासो छ । सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्था आवश्यकताअनुरुको बजेट, पर्याप्त दक्ष जनशक्ति तथा औषधि र उपकरणको अभावैअभावमा जेलिएका छन् । भवन बनाएर मात्र स्वास्थ्य सेवा उपलब्ध नहुने स्थानीयको गुनासो छ ।  (रासस)

प्रतिक्रिया