पर्दाभित्रको राजनीति

पहेंलो धातुको कथाः गृहमन्त्रीको नाकमा ओलीको औंला

काठमाडौं। कम्बोडियाबाट फर्किएर अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेबित्तिकै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं भित्रिएको सय किलो सुनको प्रसंगमा आक्रामक शैलीमा चिन्ता जनाएका छन्। सय किलो सुन तस्करीमा गृहमन्त्रीकै संलग्नताबारे आशंका प्रकट गरेका ओलीले यो तस्करीमा संलग्न कसैलाई पनि आफ्नो पार्टी एमालेले माफ नगर्ने चेतावनी समेत दिएका छन्। 

आफ्नै कम्बोडिया भ्रमण ओझेलमा पार्नेगरी ओलीले सुन तस्करीको बिषयमा कडा प्रतिक्रिया दिएका छन्। संसदको मुख्य विपक्षी दलका नेताको यस्तो प्रतिक्रियालाई सत्ता पक्षले कसरी लिने हो। भोलिका दिनमा स्पष्ट हुँदैजाला। तर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियतमाथि नै प्रश्न उठाएर विपक्षी दलका नेता ओलीले सत्ता साझेदार दलहरुलाई एकपटक ललकारेका छन्।

चार वर्षे भयानक हिंसापछि राजसंस्था पुनस्थापित भएको देश कम्बोडिया भ्रमण गरेर सोमबार साँझ स्वदेश फर्किएका पूर्व प्रधानमन्त्री ओलीको मुखबाट भ्रमणको उदेश्य र उपलव्धि त नेपाली जनताले थाहा पाउन बाँकी नै छ। सयकिलो सुनले पहेंलपुर भएको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेबित्तिकै अध्यक्ष ओलीले पहिला त्यसैलाई प्राथमिकतामा राख्नुलाई अन्यथा मान्न पनि भएन। चर्चित बिषयमा तात्तातो प्रतिक्रिया दिईएन भने दोस्रो भइन्छ भन्ने नेपाली राजनीतिकर्मीहरुको मानसिकताले सबैलाई प्रभावित पारेकै छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै परीक्षण छलेर बाहिरिएको सय किलो सुनबारे उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको भनाईप्रति ओलीले आपत्ति जनाउँदै आशंका व्यक्त गरेका हुन्।  

गृहमन्त्रीले ‘गैरजिम्मेवार र बत्तमिजी’ अभिव्यक्ति दिएको भन्दै  ओलीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्न गृहमन्त्रीलाई चुनौति पनि दिएका छन्। यदि संलग्नता नभएपनि अरु कसको छ त्यो पनि भन्नुपर्ने ओलीले जिकिर गरेका छन्। 
 
‘गृहमन्त्रीले बताउनुपर्छ, उहाँको संलग्नता छ की छैन? सानोतिनो संलग्नताबाट त यो काम भएको छैन होला, उहाँको चाहीँ संलग्नता भएको छ की छैन? छैन भने कसको संलग्नता छ, को छ यसमा? यत्तिकै कोटका गालामा काँक्राको बियाँ टास्ने होइन। म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पुर्याएर बोल्नुपर्छ’ ओलीले कड्किएर भनेका छन्।

उनले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ की छैन भन्दै प्रश्न गर्दै गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न चेतावनी दिए।

सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुराहरु मोड्ने काम गरिरहेको ओलीको आरोप छ। ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्याइकन एमालेले नछोड्ने बताए। उनले सुन बोक्ने भन्दापनि बोक्न लगाउनेहरुलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने चेतावनी दिए।

एमाले अध्यक्ष ओलीको यस्तो भनाईले सिंगो सरकारको नियतमाथि नै प्रश्न उठाएको छ। संसदको विपक्षी दलको नेताको आशंका र आरोप सामान्य बिषय पनि होइन। तसर्थ सरकार र खासगरी गृहमन्त्रीले यसबारेमा स्पष्ट जवाफ दिन आवश्यक देखिन्छ। अन्यथा सरकार र गृह प्रशासन नै सय किलो सुन ल्याउन जिम्मेवार रहेको भन्ने किसिमको शंका आममानिसका मनमा परिरहनसक्छ।

मूल्यवान पहेंलो धातु सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट अदृश्य बनेर भित्रिने गरेको यो नै पहिलो खेप भने होईन। कहिले ल्हासाको बाटो भएर आउँदा सिन्धुपाल्चोकको तातोपानीमा अलपत्र परेको  पहेंलो धातुलाई हेलिकोप्टरले उध्दार गरेर राजधानी ल्याएको कथा पनि यसका उपभोक्ताले थाहा पाएकै हुन्। 

गृहमा बामदेव हुन् कि रामदेव हुन् या नरनारायण नै किन नहुन् पहेंलो धातुको गुप्त धन्दा कहिले पनि नरोकिएको सुरक्षा अधिकारीहरु बताउँछन्। सर्वसाधारण नेपाली उपभोक्ताको भान्सामा एक लिटर मट्टितेल आपूर्ति गर्ननसक्ने सरकारले सत्ता सञ्चालन गरेका समयमा समेत सुनको आयातमाथि कहिंकतैबाट दख्खल नपरेको उनीहरुको भनाई छ। कहिले मलद्वारमा घुसाएर त कहिले विमानस्थलको मूलद्वार छलेर सुन राजधानी महानगर पसेको इतिहास सम्झन्छन् सुरक्षा सूत्रहरु।

त्यसैले कुरा स्पष्ट छ, परस्पर आरोप प्रत्यारोप गरेपनि पहेंलो धातुको धन्दामा सबै दलका कसै न कसैको हात पहेंलो हुँदैआएको परम्परा छ। 

रेकर्ड बनाउन सफल भएको सय किलो सुनको प्रवेशले चर्चित व्यावसायी दिपक मलहोत्राको शुष्क आँखाका परेला भिजाउन भने योगदान गरेकै हो। यसपटकको धन्दामा आफू संलग्न नभएको मलहोत्राको दावी रहे पनि मूल्यवान पहेंलो धातुलाई नेपालको राजधानी प्रवेश गराउनमा उनको अमूल्य योगदान रहँदै आएको सुन व्यवसायीहरु नै सम्झन्छन्। दिपकले मोलेको जोखिमलाई जोगाउन सत्तामा रहँदै आएका सबै दलहरुले सहानुभूति राख्दै आएको कथा पनि बारम्बार चर्चामा नआएको पनि होइन। यसपटकको सय किलो सुनको प्रवेशमा पनि सतहमा भैरहेको टिकाटिप्पणी विपरित उच्च तहको नेतृत्व वर्गको गहकिलो सहानुभूति रहेको चर्चा पनि सेलाईसकेको छैन। (फायल तस्बिर: विमानस्थलमा बरामद भएको सुन व्यवस्थित गर्दै सुरक्षा अधिकारीहरु)

 
 

प्रतिक्रिया