डेङ्गुविरुद्ध उच्च सतर्कता

नेपालगञ्ज। भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेङ्गु पुष्टि नभएको उल्लेख गर्दै सीमापारि र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिए । 

महाशाखाले मलेरिया र डेङ्गु फैलिन नदिनसमेत सचेत भएकाले नेपाल–भारत जमुनाहा नाकामा ज्वरोका बिरामी भेटिएमा परीक्षण गरेर भित्रिन दिइएको तथा उपमहानगरमा सचेतनामूलक अभियान पनि चलाइएको जनाएको छ ।

उनले एकजनामा मलेरिया देखिएकाले नेपाल–भारत नाकालगायत उपमहानगरका विभिन्न स्वास्थ्य संस्थामा ज्वरोका बिरामीको मलेरिया र डेङ्गु परीक्षण गर्न थालिएको जानकारी दिए । प्रमुख चन्दले सो रोगको लक्षण र प्रभाव पारे सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि भइरहेको बताए । 

भारतलगायत नेपालका विभिन्न जिल्लामा डेङ्गुका बिरामी देखिन थालेपछि उपमहानगरपालिकाले उक्त रोगविरुद्धको सचेतना अभियान सञ्चालन गरेको उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले बताए । उनले डेङ्गु भित्रिन नदिन तथा नियन्त्रणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको बताए । 

स्वास्थ्य कार्यालय बाँकेले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने तथा सर्वसाधारणलाई सचेतना जगाउने अभियान सुरु गरिएको जनाएको छ । सो कार्यालयले उक्त रोगविरुद्ध उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।रासस 

प्रतिक्रिया