ललिता निवास जग्गा प्रकरण: तीन सय व्यक्ति पक्रन प्रहरीको विशेष अपरेसन सक्रिय

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा संलग्न तीन सय जनालाई पक्राउ गर्ने तयारी भैरहेको बुझिएको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लामो अनुसन्धान गरेर तयार गरेको प्रतिवेदन कार्यान्वयनमा ल्याउने क्रममा संलग्न व्यक्तिहरुलाई हिरासतमा लिन लागिएको उच्च जानकार सूत्रले केहीबेर अघि दृश्य टिभीसँग बताएको छ। 

सीआईबीले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान सकेर कार्बाही अगाडि बढाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने सुझाव दिँदै फाइल फिर्ता पठाएको थियो। तत्कालिन सरकारको राजनीतिक दवावमा त्यसबेलाका महान्यायाधिवक्ताले सीआईबीको प्रतिवेदन उसैलाई फिर्ता दिन ठाडो आदेश दिएका थिए। मालपोत कार्यालय डिल्लीबजारबाट गायव पारिएको महत्वपूर्ण फायल समेत अनुसन्धान गर्न सीआईबीलाई सुझाव दिईएको थियो। तर ललिता निवास जग्गा प्रकरणसँग सम्वन्धित सो फायल जिम्मा लिएका एकजना कर्मचारी समेत आजसम्म सम्पर्कमा नआएको समाचार सूत्रले बताएको छ।

ललिता निवास जग्गा प्रकरणमा मुख्य कारोबारी मानिएका व्यक्ति भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई अनुसन्धानका लागि भन्दै प्रहरीले आज बिहान नियन्त्रणमा लिएपछि यो प्रकरणसँग सम्वध्द व्यक्तिहरुलाई कडा निगरानीमा राखिएको प्रहरी सूत्रले बताएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गुरुङलाई आज बिहान काठमाडौँबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले बताए। 

प्रहरीले निगरानीमा राखिएका व्यक्ति उम्कन नपाउन् भनेर विशेष अपरेसन चलाइरहेको जनाएको छ। प्रहरीले त्यस प्रकरणमा संलग्न भएको आशङ्कामा थप केही व्यक्ति पनि खोजी गरिरहेको उनले जानकारी दिए। 

घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर विशेष अदालतमा दर्ता गरेको मुद्दा अहिले पनि विचाराधीन छ। सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ।

यो पनि पढ्नुहोला-

ललिता निवास जग्गा प्रकरणले गुरुङलाई हिरासत पुर्यायो 

प्रतिक्रिया