मार्टिनको ह्याट्रिकमा सातदोबाटोको एपीएफमाथि फराकिलो जित

काठमाडौं । नाइजेरियन खेलाडी मार्टिन कायोडी अजयीको ह्याट्रिकको सहयोगमा सातदोबाटो युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए–डिभिजन लिगमा शानदार जित निकालेको छ । शुक्रबार बेलुकी भएको खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ४–१ गोलले हराउँदै सातदोबाटोले लिगमा उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोलाई जित दिलाउन मार्टिन कायोडी अजयीले ह्याट्रिक पूरा गर्दा सुशील राईले एक गोल थपे । एपीएफको लागि बिकी तामाङले एक गोल फर्काए । खेलको ४२ औं मिनेटमा मार्टिनले गोल गर्दै सातदोबाटोलाई खेलमा अगाडि बढाएका थिए । अतिरिक्त समयमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए ।

४९ औं मिनेटमा बिकी तामाङले गोल गर्दै एपीएफलाई खेलमा फर्काउने संकेत देखाएका थिए । तर लगत्तै सुशील राईले गोल गर्दै सातदोबाटोलाई सहज जिततर्फ अगाडि बढाए । यस्तै ५८ औं मिनेटमा मार्टिनले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । जारी लिगको यो पहिलो ह्याट्रिक हो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सातदोबाटो ४–१ गोलले विजयी भयो ।

जितसँगै सातदोबाटो ३ खेलबाट ७ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिगको शुरुवाती तीनै खेलमा पराजित एपीएफ लिगको पुछारमा छ ।

प्रतिक्रिया