माओवादीद्वारा विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति गठन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रवार बसेको पार्टीको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव छन् । उपसमितिले मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महाराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिए । उनले राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरु बनाइएको बताए ।

बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताए ।

प्रतिक्रिया