लाखौँ श्रोतामाझ प्रेम रावतको पुस्तक ‘स्वयम् की आवाज’ को विमोचन, बन्यो गिनिज विश्व रेकर्ड

सुप्रसिद्ध रमाबाई अम्बेडकर मैदान र्याली स्थलमा भएको कार्यक्रममा प्रेम रावतले विशाल जनसभालाई सम्बोधन गर्नुभयो । यो उहाँद्वारा लिखित ‘स्वयम् की आवाज’ नयाँ पुस्तकको लोकार्पणको अवसर थियो । यस पुस्तकलाई प्रसिद्ध प्रकाशक हार्पर कोलिन्सले हिन्दीमा प्रकाशन गरेको हो । यस सुअवसरमा प्रेम रावतलाई सुन्नका लागि भारत तथा नेपालबाट मानिसहरूको सहभागिता रहेको थियो । 

यस पुस्तकलाई विमोचन समारोहका बिचमा गिनिज विश्व रेकर्डद्वारा पुरस्कृत गरिएको छ । उक्त कार्यक्रममा प्रेम रावतले १,१४,७०४ जना मानिसहरूको उपस्थितिमा आफ्नो पुस्तकलाई विमोचन गर्नुभयो । यही परिणामबमोजिम यस प्रकारको कार्यक्रममा ६,७८६ मानिसहरू उपस्थित रहेको पुरानो रेकर्ड तोडिएको छ । सर्वप्रथम प्रेम रावतले आफ्नो पुस्तकका केही पानालाई पढेर सुनाउनुभयो । यसलाई पुस्तकप्रेमीहरूले शान्तिपूर्वक सुनेर त्यसको आनन्द लिए । ‘स्वयम की आवाज’ प्रेम रावतद्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘हियर योरसेल्फ’ को हिन्दी रूपान्तरण हो । यस पुस्तकलाई न्युयोर्क टाइम्सले सर्वाधिक विक्री भएको सूची अर्थात् बेस्ट सेलर लिस्टमा राखेको थियो । 

पुस्तकको लोकार्पणपछि प्रेम रावतले आफ्नो सम्बोधनमा जीवनमा व्याप्त आवाजलाई शान्त पार्ने सन्दर्भसहित वास्तविक आवाजलाई सुन्नुपर्ने विषयमा मार्गदर्शन प्रदान गर्नुभयो । उहाँका अनुसार, “शान्ति नै मानवताको सबैभन्दा ठूलो उपलब्धि हो । हरेक मानिसभित्र शान्तिको स्रोत रहेको हुन्छ । तथापि, के तपाईँले आफ्नो जीवनमा त्यस चीजको अनुभव गर्नुभएको छ रु मानिसहरूले आफ्नो जीवनमा शान्तिको अनुभव गर्न सकून् भनेर मैले विगत छ दशकदेखि आफ्नो कोसिसलाई जारी राखेको छु ।” उहाँले श्रोताहरूलाई जीवनमा केवल विश्वासमा होइन अनुभवमा जोडिन आग्रह गर्नुभयो । उहाँको भनाइ के थियो भने हामी सबै एउटा सानो थोपा हौँ । यसमा समुन्द्र अडिएको छ र एक दिन यो थोपा समुन्द्रमा गएर विलय हुनेछ । हामी थोपा रहेसम्म हामीले ती अनन्तलाई अनुभव गर्न सक्छौँ । उहाँले यो जीवन पटक–पटक नपाइने बारेमा सम्झाउनुभयो । उहाँका अनुसार यदि हाम्रो जीवनमा प्रकाशको आगमन भयो भने हामी पनि यो जीवनरूपी उपहार प्राप्त भएको कुरालाई देख्न सक्षम हुन्छौँ । 

संसारमा शान्तिदूतका रूपमा परिचित रावत एक प्रसिद्ध शिक्षक, सर्वाधिक विक्री हुने पुस्तकका लेखक तथा मानवतावादी चिन्तक हुनुहुन्छ । उहाँ मानिसहरूलाई आफ्नो हृदयको आवाजलाई सुन्न तथा आफ्नो जीवनलाई सर्वोत्कृष्ट ढङ्गले जिउन प्रेरित गर्नुहुन्छ । उहाँद्वारा लिखित पुस्तक संसारमा सबैभन्दा बढी पढिने पुस्तकभित्र पर्दछ । आफ्नो सन्देशलाई उहाँले हाम्रा दैनिक जीवनसँग जोडिएका रोचक किस्साका साथै विभिन्न कथाहरूका माध्यमबाट अगाडि पस्कनुहुन्छ । अतः यस कुरालाई मानिसहरूले एकदमै प्रशंसा गरेका छन् । 

‘स्वयम् की आवाज’ पुस्तकमा प्रेम रावतले आफ्नो विश्वभरको यात्राका क्रममा धार्मिक चिन्तक तथा नेतादेखि लिएर विश्वका कडा सुरक्षा भएका जेलमा रहेका कैदीबन्दीसँग आफूले गरेका कुराकानीका सन्दर्भ आदिलाई समावेश गर्नुभएको छ । 
कार्यक्रमकी प्रस्तोता भाग्यश्री दासानीद्वारा आफ्नो आवाजलाई मात्रै ध्यान दिँदा आफ्ना छेउछाउका मानिसहरूलाई कसरी ध्यान दिन सकिन्छ र कसरी उहाँहरूको दुःखलाई हटाउन सकिन्छ भन्ने प्रश्न राखिएको थियो । यसमा प्रेम रावतले के भन्नुभयो भने एउटा निभेको दियोले अर्को निभेको दियोलाई बाल्न सक्दैन । यसरी नै हामीले स्वयम्लाई नचिनेसम्म अर्को व्यक्तिलाई दुःखबाट मुक्त तुल्याउनका लागि सहयोग गर्न सक्दैनौँ । 

हिजोआजको दौडधुपको दुनियाँमा मानिस दुःखी छ । थाकेको महसुस गर्दछ । प्रेम रावत भन्नुहुन्छ, “हरेक मानिसभित्र शान्तिको सुमधुर सङ्गीत बजिरहेको छ । त्यसलाई हामीले आफूभित्रै सुन्न सक्छौँ र शान्ति प्राप्त गर्न सक्छौँ ।” 

 

प्रतिक्रिया