घर फर्किन राजी भए आन्दोलनरत मिटरब्याज पीडित

काठमाडौं। आन्दोलनरत मिटरब्याज पीडित घर फर्किन राजी भएका छन्। सरकारले उनीहरुका माग सम्बोधन हुने आश्वासन दिएपछि आज धर्नास्थलमा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको छ। त्यसपछि उनीहरु घर फर्किने भएका हुन्। 

सरकारका तर्फबाट पीडितहरु धर्ना बसिरहेका ठाउँ अनामनगरस्थित तमु बौद्ध गुम्बा पुगेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास दिलाएका थिए। त्यसपछि गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितलाई विदा गरेका थिए।

“तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस्। तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन।” गृहमन्त्रीले आश्वासन दिँदै भनेका थिए।
        
घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। वीर अस्पतालको टोलीले पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको थियो। मन्त्री श्रेष्ठले भने, “उहाँहरु अब फर्कने तयारीमा हुनुहुन्छ। उताबाट करिब दुई साता हिँडेर आउनुभएको छ, त्यसैले उहाँहरुको स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरिएको हो ।”
        
वीर अस्पतालका मेडिकल अफिसर डा सञ्जय धरेलले सबैजनाको स्वास्थ्यावस्था सामान्य रहेको बताए। “उहाँहरुको अवस्था सामान्य छ। केही दीर्घरोगका बिरामीलाई आवश्यक परीक्षण र परामर्शका लागि सिफारिस गरेका छौँ”, उनले भने। 
    
पीडितले आफ्नो माग सम्बोधन हुनेमा विश्वस्त भएर फर्किंने तयारीमा रहेको बताए। उनीहरुले गृहमन्त्रीसँग घर फर्किन आवश्यक सवारीको व्यवस्थापनका लागिसमेत माग गरेका छन्। “सहमति अनुसार समस्या समाधान हुने विश्वस्त छौँ”, सिरहाका श्यामकुमार ठाकुरले भने, “हामी जे उद्देश्यले काठमाडौँ आयौँ, सोही अनुसार नीति निर्माणको प्रक्रिया अघि बढेको छ।”

मिटरब्याज पीडितहरु ११ दिन हिँडेर काठमाडौँ आएका थिए। 

प्रतिक्रिया