प्रधानमन्त्री दाहाल चितवनबाट फर्केपछि भरे साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने दावी

काठमाडौं। भरे साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति बनेको बुझिएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै सुरु भएको मन्त्रिपरिषद् विस्तारको बिषयमाथिको छलफल आजसम्म टुंगिएको छैन। तर बुधबार देखि सत्ता गठबन्धनका नेताहरु सहमतिको नजीक पुग्न लागेको बताईएको छ। आजै बिहान पनि मन्त्रीपरिषद विस्तार लगायत विषयमा सत्ता साझेदार दलहरुबीच छलफल भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भरे साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल गृह जिल्ला चितवन गएकाले छलफल पुनः अपराह्न २ बजे हुने बताइएको छ। “जुन जुन दलको तर्फबाट मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्तिको नाम टुङ्गो लागेको छ, उहाँहरु पुनः आउनुपरेन। जसको टुङ्गिएको छैन, उहाँहरुले पुनः संस्थागतरुपमा निर्णय गरेर आउने सहमति भएको छ”, नेता श्रेष्ठले रासससँग भने।

प्रधानमन्त्री दाहालले नै अग्रसरता लिएर केही दलका तर्फबाट सरकारमा सहभागी हुनेको नाम करिब टुङ्गो लगाइदिएको जानकारी दिँदै नेता श्रेष्ठले सबै विषयमा मतैक्य भए भरे साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए। “कुन दलले के कति मन्त्रालय लिने भन्नेबारे सहमति भएको छ। त्यसलाई संस्थागतरुपमा निर्णय गरौं भनिएको हो”, उनले सुनाए। 

बुधबारको बैठकमा नै नेपाली कांग्रेसले आठ, माओवादी केन्द्रले पाँच, एकीकृत समाजवादी र जसपाले दुई/दुई मन्त्रालय लिने सहमति भइसकेको छ। अन्य दलले एक/एक मन्त्रालय लिने तय भएको छ। बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताको सहभागिता थियो। 

प्रतिक्रिया