अर्थतन्त्र संकटमा परेको भन्दै कांग्रेस नेता कोइरालाले संसदलाई झक्झक्याए

काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अर्थतन्त्र संकटोन्मुख रहेको बताउँदै देश सिकिस्त बिरामी अवस्थामा पुगेको बताएका छन्।

आईतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले केही समयदेखि आफूले अर्थविद, उद्योगी, व्यवसायी र उत्पादन क्षेत्रमा लागेकाहरूसँग छलफल गरेको उल्लेख गर्दै युवा वर्ग विदेश पलायन हुनु र यहीँ उद्यम गरेर टिक्न खोजेका व्यवसायी हताश मनस्थितिमा रहनुले राष्ट्र सिकिस्त बिरामी भएको बताए।

मुलुकमा उत्पन्न आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमती कायम गरेर अघि बढन सरकार र राजनीतिक दलहरुलाई उनको आग्रह थियो।

उनले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन र जनताको अपेक्षा अनुसार काम गर्न संसद, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको पनि स्पष्ट पारे।

कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुलुकको अर्थतन्त्रमा देखिएका संकट हटाउनका लागि सबै मन्त्रीहरुलाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिए। नेता कोइरालाले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिहरुसँग मुलुकको आर्थिक संकटबारे गम्भीर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढ्न राजनीतिक दलहरु प्रतिवद्ध हुनुपर्ने बताए।

कोइरालाले भने, ‘अब हामी ढिलो नगरी जनअपेक्षा अनुसार संसद, सरकार, प्रतिपक्ष सबै एकठाउँमा उभिएर नागरिकत चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन। हाम्रा आफ्नै विगतका कमी कमजोरीले संघीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ। यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुडकिलो हो भन्ने मलाई लाग्छ। सम्मानित संसद समक्ष म मेरो विचारहरु राखिरहँदा मेरो आँखा अगाडि गत निर्वाचनमा लामवद्ध भएर भोट हालीरहेका सधै मलको अभावबाट पीडित किसानहरुको अनुहार अगाडि आउँछ। लाखौं युवाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि मलेशिया र खाडीका तातो भूमिहरुमा गएका दृष्यहरु नाँच्दछ। 

'राम्रो शिक्षा र रोजगारीको खोजिमा पश्चिम युरोप, अष्ट्रेलिया, अमेरिकालगायतका संसारका कुनाकुनामा जान ज्यान फालेर लागेका युवाहरुको अनुहार अगाडि आउँछ। यिनीहरुलाई केन्द्रमा राखेर हामी हाम्रो सम्पूर्ण अर्थ राजनीतिको नयाँ पैया सुरु गर्न कहिलेबाट सुरु गर्ने होरु आजको मूल प्रश्न यही हो भन्ने मलाई लाग्दछ। गत केही महिनादेखि देशका मूर्धन्य अर्थविद्, उद्योगपति, व्यवसायी, व्यापारी, उत्पादनका क्षेत्रमा लागेका साना, ठूला अनेक समूहसँग अन्तरक्रिया गर्ने मौका पाए। छलफलका क्रममा उहाँहरुका समस्याका बारेमा भरमग्दुर बुझने प्रयास गरेँ। सबै राजनीतिक दल र सरकार मेरो विनम्र अनुरोध छ–देशको सवल अर्थतन्त्रका लागि समयसमयमा फजुल खर्च घटाउन विभिन्न कार्यदलहरुले बुझाएका प्रतिवेदनहरुलाई आधार मानेर अनुत्पादक फजुल खर्चहरु कम गर्ने दिशातिर राजनीतिक सहमती कायम गरेर अगाडि बढौं। नागरिक विश्वास र संसदको समर्थनबाट देशमा देखा परेको अर्थतन्त्रको संकट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिन्छ। यसका लागि प्रधानमन्त्रीले इच्छा शक्तिको मात्रै प्रर्दशन गरेर पुग्दैन। सम्पूर्ण मन्त्रीमण्डललाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न सक्नु पर्दछ। समाजवाद भ्रष्टाचारको जगबाट आउँदैन। समन्यायिक समाज बनाउन उस्तै खालको विचार र दृष्टिकोण चाहिन्छ। साझा संकल्प र प्रयत्नबाट अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न जरुरी छ। विश्वबाट लगानीका अवसरहरु नेपाल भित्र्याएर रोजगारीको अवसर सृजना गर्न सम्भव हुन सक्छ। विश्वव्यापी रुपमा बैंकिङ क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठीरहेको छ। हामो देशले पनि युरोप र अमेरिकाजस्ता देशहरुले भोग्नु परेको बैकिङ संकट भोग्न नपरोस भन्नका निम्ति अपनाउनुपर्ने मौद्रिक नीतिलाई बेलैमा विज्ञ, विशेषज्ञको सल्लाहबाट अगाडि बढन म अनुरोध गर्दछु। राजनीतिक नेतृत्वमा पनि आम जनताको विश्वास घटेपछि सवल अर्थतन्त्र धराशायी बन्न समय लाग्दैन। त्यसैले अहिलेको असहजताको सम्बोधन परम्परागत टालटुले विधिबाट होइन। दीर्घकालीन रुपबाटै निकास निस्कने गरी सरकारले काम गरोस्’ नेता कोइरालाले भने।

नेता कोइरालाले युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढ्नुपर्ने भएकाले सोही अनुसार विज्ञहरुको परामर्श लिएर अघि बढन पनि सरकारलाई सचेत गराए।

प्रतिक्रिया