यू–१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमको तेस्रो जित

बैतडी । वाइवाइ १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले हराउँदै तेस्रो जित दर्ता गरेको हो ।

यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेट र कर्णालीलाई १० विकेटले पराजित गरेको थियो । तेस्रो जित निकालेको सुदूरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । दश अङ्कका साथ पहिलो स्थानमा लुम्बिनी प्रदेश रहेको छ । बुधबार प्रदेश १ ले दिएको ९१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा ३१ ओभरमा पूरा गर्यो । सुदूरपश्चिमका लागि अर्जुन साउद र वसन्त कार्कीले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाएका हुन् ।

२३ रनमा ४ विकेट गुमाएर धर्मराएको सुदूरको पारी सम्हाल्दै अर्जुन र वसन्तले पाँचौँ विकेटका लागि ७१ रनको साझेदारी गर्दै जित हासिल गरे । वसन्तले ३७ र अर्जुनले ३२ रन जोडे । प्रदेश १ का अभिनय राजवंशीले दुई तथा श्रवण किस्कु र अङ्कित सुवेदीले समान १/१ विकेट हात पारे ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको १ प्रदेश २४ ओभरमा मात्रै ९० रनमा सीमित भयो । उसका लागि अङ्कित सुवेदी एक्लैले ६१ रनको पारी खेले पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रनसमेत जोड्न सकेनन् । सुदूरपश्चिमका शेर मल्लले ४, नरेन्द्र साउदले ३ र कैलाश ऐरीले २ विकेट हात पारे । शेर मल्ल खेलका म्यान अफ द म्याच चुनिए ।

प्रतिक्रिया