प्रधानमन्त्रीको एमाले र राप्रपामाथि अस्थिरताको आरोप

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा अस्थिरता सिर्जना गर्न दुइ राजनीतिक दल जिम्मेवार रहेको टिप्पणी गरेका छन्। एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजनीतिक अस्थिरतातर्फ उन्मुख भएको दाहालको टिप्पणी छ।

प्रधानमन्त्री दाहाले प्रतिनिधिसभामा सोमबार दोस्रो पटक विश्वासको मत लिँदै  दुइवटा दललाई अस्थिरताको दोष लगाएका हुन्।

प्रतिनिधिसभाको निर्वाचनपछि एमालेकै संयोजनमा बनेको गठबन्धनबाट प्रधानमन्त्री भएका दाहाललाई यसपटक एमालले विपक्षमा मत दिएको छ। नेपाली कांग्रेस लगायतका दलहरुको समर्थन लिएर सरकारको नेतृत्व गरिरहको दाहालले एमाले र राप्रपाको विश्वास गुमाएका थिए। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि उनले आज संविधान अनुसार विश्वासको मत लिएका हुन्। 

विश्वासको मत माग्दै दाहालले, ‘स्थिरताको प्रतिवद्धता जनाएका दुई दल अस्थिरता तर्फ उन्मूख हुनु चिन्ताको बिषय हो’ भने। उनले विगतमा यी दलहरुबीच केही मतभेद भएपनि तत्कालिन गठबन्धन घटकबीच मतभेद नआउने सहमती भएको चर्चा गरे। ‘तर अर्को पक्षबाट सहमती अनुसारको काम भएन’, प्रधानमन्त्री दाहालले भने।

दाहालले दुई महिना नपुग्दै विश्वासको मत फिर्ता लिने निर्णयको प्रतिरक्षा निर्णयकर्ताहरुले नै गर्ने बताएका छन्। ‘अहिलेसम्म किन विश्वासको मत फिर्ता लिएको भन्ने आधिकारीक भनाई आएको छैन’, प्रधानमन्त्री दाहालले भने।

उनले जनताले विश्वासको मत दिएको र फिर्ता लिएको बिषयमा जनताका तर्फबाट पनि आफ्नो मुल्याङकन हुनेछ भन्दै विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले पहिलो पटक २६ पुस २०७९ मा  विश्वासको मत लिएका थिए।
 

प्रतिक्रिया