'राप्रपाको अध्यक्ष हुने तयारी गरेकोमा सीपीजीलाई बधाई छ'

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष हुन लागेको भन्दै कटाक्ष गरेका छन् ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा महासचिव मैनालीले राजा महेन्द्र राष्ट्रवादी र प्रचण्डको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताएपछि प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले भने, ‘पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईँहरुको अगाडि महान राजा पनि भन्नुभयो । म अर्को भाषा बोल्न सक्दिन । सीपीजीले सजिलै बोलिदिनुभयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँचै त्यसै हो भने सीपीजीलाई बधाई छ ।’

प्रचण्ड अघि सम्बोधन गरेका महासचिव मैनालीले राजा महेन्द्र राष्ट्रवादी भएको भन्दै प्रशंशा गरेका थिए । अध्यक्ष प्रचण्डले आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको टिप्पणी गरेका थिए । उनले राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने बताए । तर पनि राप्रपाले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको उनको भनाई थियो ।

उनले भने, ‘हाम्रो मत त मिल्दैन । म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी । म राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ताहरुलाई यस अर्थमा पनि धन्यवाद दिन चाहन्छु–तपाईहरु आफ्नो राजनीतिक विचार र मतमा भिन्न हुँदाहुँदै पनि देशमा राजनीतिक अस्थिरता र अराजकता पैदा नहोस् भन्नका निम्ति, देशले गति लिईराखोस् भन्नेका निम्ति संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन तपाईहरुले गरेको योगदानलाई मैले भिन्न परिस्थितिमा गरेको देशभक्ति ठान्दछु ।’
सीपी मैनालीले के भनेका थिए ?
नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी भन्दै प्रशंसा गरेका छन् । राप्रपाको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव मैनालीले राजा महेन्द्रले नेपाललाई सिक्किमीकरण हुनबाट जोगाएका तर प्रचण्डले देशमा विदेशी हस्तक्षेप बढेको आरोप लगाएका हुन् ।

मैनालीले २००७ सालको दिल्ली सम्झौताबाट आएका अवाञ्छित भारतीय हस्तक्षेपलाई महेन्द्रले अस्वीकार गरेको पनि बताए। उनले भने, ‘सिंगो नेपाल भारतमा गाभिएको सिक्किम जस्तो हुनबाट रोक्नका लागि, भुटान जस्तो हुन नदिन पृथ्वीनारायणपछि कदम चाल्ने राजा महेन्द्र हुन् । नौ दश सालमै विधान सभा आएको भए नेपाल भारतमा गइसक्थ्यो। जवाहरलाल नेहरुले राखेको उक्त कुरा राजा महेन्द्रले तुहाएर देश बचाए।’

प्रचण्डहरूले भारतमा बसेर जनयुद्ध चलाएको भन्दै मैनालीले उहाँहरुलाई भारतले आतिथ्यता दिएको उहाँहरुलाई नेपाल पठाउँदा विदेशी एजेण्डासहित पठाएको दाबी गरे ।

प्रतिक्रिया