राष्ट्रवादी हूँ नभने हुँदैन र !

                                                                
खाजा खाए हुँदैन र 
ब्रेकफास्ट र नास्ता नै गर्नु पर्छ ?
कोदो, फापर र उवाको पिठोले हुर्काएको ज्यान हो नि
अनुदानको दाल, तेल, चामलले नै किन भर्नु पर्छ ! 

जुत्ता लगाए हुँदैन र
ब्राण्डेड र आयातित नै हुनु पर्छ ?
ठेस लाग्दा थुथु गर्दै तुरुक्क तुक्र्याएका खुट्टा त हुन् यी
पैतालाले  माटो नकुल्चे पनि स्वदेशी नै लगाउनुपर्छ  !

सुकुल, राडी–पाखीमै बस्दा हुँदैन र
सोफामा बसेर विदेशी कार्पेटमा नै टेक्नु  पर्छ ?
राजस्वले खरिदेको घुम्ने कुर्षीमा बस्ने पनि जनता हो भने 
सेवकहरुले माननीय सम्बोधन त्याग्न सक्नुपर्छ  !

नेपाली खद्दर लगाए हुँदैन र
सार्वजनिक पद धारण गरेर कार्यालयमा बसेपछि ?
स्वदेशको सेवा गर्छु भन्नै पर्छ र
अन्तराष्टि्रय पहिरणमाथि अत्तर, जेल र क्रिम घसे पछि ।

पारिश्रमिक थापे हुँदैन र
सार्वजनिक योजनामा कमिशन खानै पर्छ ?
जहाँ श्रमिकको खुन र पसिनाको मूल्य हराउँदछ 
पद र पैसा बहुलाउँछ अनि  विकास र भविष्य  रुलाउँदछ !

राष्ट्रवादी हुँ नभने हुँदैन र
वहुराषि्ट्रय सहायोगमा देशको दैनिकी चलेपछि ?
शासकले सेवक हुँ भनी राख्नु किन पर्यो र 
अभाव, अन्याय र स्वार्थले राषि्ट्रयता नै जलेपछि !

आदर्श नसम्झे हुँदैन र 
स्रोत नखुलेको धन खर्चेर चुनाव लडेपछि ?
देशमा समृदि्धको  भकारी कहिले भरिएला त
करेसा र वेंसीखेत बाँझो राखेर राजनीति गरेपछि !

प्रतिक्रिया