लोकतन्त्रको अपहरण गर्ने काम भैरहेकोछ : उपप्रधानमन्त्री



दोलखा, फागुन १९: उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले संघीयता, समावेशी, धर्मनिरपेक्षता र गणतन्त्र सहितको नयाँ प्रकारको लोकतन्त्रलाई अपहरण गर्ने र कमजोर पार्ने काम भै रहेको दावी गर्नुभएको छ । 
 
दोलखा महोत्सव २०७९ को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अहिले लोकतन्त्रको अपहरण हुन लागेकोले त्यसको रक्षा अहिलेको प्रमुख काम रहेको बताउनुभयो । 

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, अहिलेको मुख्य मुद्दा भनेको राजनीतिक परिर्वतन र उपलब्धिलाई माध्यम बनाएर सामाजिक आर्थिक क्षेत्र विस्तार तथा सामाजिक आर्थिक रुपान्तरण गर्नुरहेको छ । 

उपप्रधानमन्त्री श्रेष्ठले अहिले अर्थतन्त्रको अवस्था उत्साहजनक नरहेको उल्लेख गर्दै सबै सङ्कल्पबद्ध भएर अर्थतन्त्रको गति बढाउन लाग्नुपर्ने आवश्यकता औँल्यानुभयो । सुशासन विना विकासमा फड्को मार्न सकिन्न भन्ने कुरामा सरकार दृढ रहेको स्पष्ट पार्दै उहाँले भ्रष्टाचार माथि प्रभावकारी नियन्त्रण तथा भ्रष्टाचारीलाई कार्वाही गर्न सरकार प्रतिवद्ध व्यक्त गर्नुभयो । 

आर्थिक सङ्कटले गिजोलिएको व्यवसायलाई थोरै भएपनि लयमा फर्काउन यो महोत्सव फलदायी हुनेमा विश्वास व्यक्त गर्दै महोत्सवले पर्यटकीय स्थलको प्रवद्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।  

IMG_6859

संघीय प्रतिनिधिसभा सदस्य गंगा कार्कीले आर्थिक रुपमा धरासायी भएको दोलखामा महोत्सवले थोरै भए पनि सिञि्चत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, दोलखामा सबैथोक छ भनेर मात्रै हुँदैन, भएको स्रोत साधनलाई सदुपयोग गरी विकास गर्ने योजना बनाउनुपर्छ । 

संघीय प्रतिनिधिसभा सदस्य सोविता गौतमले दोलखा प्राकृतिक, धार्मिक, साँस्कृतिक र ऐतिहासिक स्रोत साधनले धनी भएकोले त्यसको सदुपयोग गरी आर्थिक विकास गर्न सकिने बताउनुभयो । उहाँले दोलखा आउने सवारी साधनहरुलाई बाहिर जाँदा खाली पठाउनु नहुने र जिल्लामा उत्पादन बढाउनुपर्ने बताउनुभयो । 

नौ दिनसम्म चल्ने महोत्सवको आयोजना दोलखा चेम्बर अफ कमर्सले गरेको हो । महोत्सवमा जिल्ला जिल्लाका विभिन्न उत्पादनहरुको स्टलहरु राखिएका छन् भने विभिन्न मनोरञ्चनात्मक कार्यक्रमहरु समेत राखिएका छन् । 

दोलखा चेम्बर अफ कर्मशका अध्यक्ष बिष्णु श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री विशाल खड्का, दोलखा २ का प्रदेश सांसद भरतबहादुर केसी, प्रदेशका अर्का सांसद् मोनिका श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए । 
 

प्रतिक्रिया