प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौं, कात्तिक १६ : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा साइडलाइन वार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन ‘कोप २६’मा सहभागी हुन ग्लास्गो पुगेका दुई प्रधानमन्त्रीबीच मंगलबार साइडलाइन वार्ता भएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्विटरमार्फत दुई प्रधानमन्त्रीबीच साइडलाइन वार्ता भएको जानकारी दिएका हुन् । प्रधानमन्त्री देउवाले गत २९ असारमा पद सम्हालेयता भारतीय समकक्षी मोदीसँग भएको यो पहिलो भेटवार्ता हो । ‘दुई नेताबीच द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने, जलवायु परिवर्तन, कोभिड–१९ महामारीको प्रभाव कम गर्न तथा महामारीपछिको पुनरुत्थानका लागि सहकार्य गर्नेसम्बन्धमा छलफल भएको छ,’ बाग्चीले उल्लेख गरेका छन् । परराष्ट्र मन्त्रालयले पनि दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध अझ मजबुत बनाउने विषयमा कुराकानी भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया