नेपालगंजमा फोटोग्राफी समीट हुने

काठमाडौं। आगामी चैतको पहिलो साता नेपालगंजमा नेपाल फोटोग्राफी समीट गरिने भएको छ ।

'अन्तराल'को आयोजना र व्यवस्थापनमा हुने यस समीटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् ।

‘नेपालको फोटोग्राफीको विकासमा यो समीट कोशेढुंगा सावित हुनेछ’ समीटका परिकल्पनाकार 'अन्तराल'का प्रमुख कार्यकारी जयनारायण शाहले भने- 'समीटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्ता देखि अग्रज व्यक्तित्वहरुको अभूतपूर्व जमघट हुनेछ।’

तेस्रो नेपालगंज फोटो फेस्टिवलको सन्दर्भ पारेर आयोजना गर्न लागिएको फोटोग्राफी समीट संभवत नेपालमै पहिलो पटक हो ।

विभिन्न विधामा स्वतन्त्र ढंगले फोटोग्राफी गरिरहेका फोटोग्राफरहरु र संचारमाध्यममा कार्यरत फोटो पत्रकारहरु एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन् ।

‘रिल वाला’ क्यामेरादेखि अहिलेको अत्याधुनिक डिजिटल प्रविधीका क्यामेरा, गोप्रो देखि ड्रोन चलाइरहेको पुस्ताको एकै ठाउँको जमघटले देशव्यापी सन्देश दिने विश्वास गरिएको छ ।

समीटका अवसरमा अन्तरक्रिया, समूह छलफलहरु, फोटोग्राफीका चुनौतीहरुवारे कार्यपत्र प्रस्तुति, अनुभव सेयरिङ्ग, धार्मिक र पर्यटकीय स्थल भ्रमण र फोटोग्राफी लगायतका कार्यक्रमहरु आयोजना हुनेछन् । जसलेगर्दा यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

समीटमा ११ जना अग्रज फोटोपत्रकार र फोटोग्राफरहरु विशेष अतिथीको रुपमा सहभागी हुनेछन् भने देशका विभिन्न स्थानवाट ५० जना सहभागी हुन पाउनेछन् जसकालागि नाम दर्ता गर्नुपर्नेछ। यसैगरी ५० जना स्थानीय (प्रशिक्षार्थी समेत) सहभागी  हुनेछन् ।

‘नेपाल फोटोग्राफी समीट नेपालको जुनसुकै कुनामा रहेर फोटोग्राफी गरेका व्यक्तित्वहरुको साझा फोरम वन्नेछ’ अन्तरालका जयनारायण शाहले भने – समीटले अनुभवको आदानप्रदान मात्रै गर्ने छैन, आपसी भाइचारा समेत अभिवृद्धि गर्नेछ ।’
 

प्रतिक्रिया