तीन प्रज्ञाप्रतिष्ठानमा तीन सर्जकको चयन

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन विधाका प्रतिष्ठानहरुमा आआफ्नो क्षेत्रमा उल्लेख्य कर्म गरेका सर्जकलाई कुलपतिमा मनोनयन गरेको छ। 

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गर्दा दशकौंदेखि निरन्तर साधना गरिरहेका तीन प्रतिभालाई नेतृत्वमा चयन गरेर मन्त्रालयले परम्परालाई नयाँ मोड दिएर सही व्यक्ति सही स्थान भन्ने मान्यतालाई कार्यान्वयन गरेर उदाहरण प्रस्तुत गरेको कलाकाहरुवीच चर्चा भैरहेको छ। संस्कृतिमन्त्री सुदन किरातीले यो परम्परालाई नयाँ मोड दिन साहस गरेको टिप्पणी समेत भएको छ। उनकै सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै प्रज्ञा प्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेका हुन्।

आरोहण गुरुकूलकी संस्थापक तथा चर्चित रंगकर्मी निशा शर्मालाई नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको कुलपतिमा पदमा चयन गरिएको छ। उनी साढे तीन दशकयता रंगकर्ममा निरन्तर साधना गरिरहेकी लोकप्रिय कलाकार हुन्। त्यहाँ उपकुलपतिमा गायक शम्भु राईलाई नियुक्त भएका छन् भने सदस्य सचिवमा कुस्मा महरालाई नियुक्त गरिएको छ। प्राज्ञहरूमा कर्णबहादुर गौतम, बखतबहादुर हमाल, डक्टर राई, हिसनबहादुर मगर, टीका पुन, चेतन सापकोटा नियुक्त भएका छन्। साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन्। 

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन् भने उपकुलपतिमा कवि विमल निभालाई नियुक्त गरिएको छ। त्यस्तै सदस्य सचिवमा प्राडा धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ। प्राज्ञहरूमा मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन्। साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन्।

यसैगरी नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको कुलपतिमा मूर्तिकार नारदमणि हार्तम्छाली नियुक्त भएका छन् भने उपकुलपतिमा पेन्टर लालकाजी लामालाई नियुक्त गरिएको छ। त्यस्तै सदस्य सचिवमा पाल्साङ्मो लामालाई नियुक्त गरिएको छ। प्राज्ञहरूमा प्रदीप अधिकारी, सौरगंगा अधिकारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरूणा हिङमाङ, देवेन्द्रकुमार काफ्ले नियुक्त भएका छन्। साथै २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन्।

प्रतिक्रिया