घाइते कांग्रेसका नेता चन्द्र भण्डारीलाई मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी

 

chandra bhandari and his mother काठमाडौँ, ४ फागुन :नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीलाई भारतको मुम्बईको नेशनल बर्न सेन्टर लैजाने लैजाने तयारी भएको छ । गए राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते हुनुभएका नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ । 

नेता भण्डारीसँगै उहाँका आमा ८६ वर्षीया हरिकलाको पनि आइसियुमै उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिनुभयो । गए राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर दुवैजना घाइते हुनुभएको हो । 

अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार नेता डा भण्डारीको अनुहार, दुवै हात र  गोडामा २५–३० प्रतिशत तथा आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ । डा भण्डारी र आमा हरिकलाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा नकर्मीको भनाइ छ । नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण  (सिफारिस) गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते

 खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते हुनुभएको छ । गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उहाँकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते हुनुभएको छ ।  

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर विस्फोटबाट घाइते नेता भण्डारी र उहाँकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । उहाँ गए राति नै उक्त अस्पताल पुग्नु भइ नेता भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । 

    गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।(रासस)

प्रतिक्रिया