प्रणय दिवस

प्यारी वसन्ती

प्यारी वसन्ती !
मझेरीमा दियो बालेर सजाएको छु 
गगनमा पूर्ण चन्द्र चम्काएको छु 
आऊ प्रिय यो शुभ रात हो 
के थाहा अर्को रात आएन भने 
के थाहा अर्को चन्द्र उदाएन भने 
आजको प्रमाद भोलि ओइलायो भने 
आजको उन्माद भोलि सेलायो भने 

प्यारी वसन्ती !
आज प्रणय दिवस हो प्रिय
प्रेम दिवस ! 
तिम्रो आगमनलाई अलौकिक बनाउन 
तिम्रो सौन्दर्यलाई अभिनन्दन गर्न 
बाहिर चन्द्रमा सजाएको छु 
तिम्रो अनुपम कटाक्षलाई सहज तुल्याउन 
भित्र दीपक जलाएको छु 
के थाहा फेरि दीपक जलेन भने 
के थाहा हृदयको धड्कन चलेन भने 
के थाहा अर्को बिहानी आएन भने 
के थाहा समीरमा मादकता छाएन भने 

प्यारी वसन्ती !
आजको रात युगान्त हुनसक्छ 
भूल गर्दा पश्चात्तापको वृत्तान्त हुनसक्छ 
के थाहा  चन्द्रमा बादलुमा छिपेर गयो भने 
के थाहा बलेको दियो निभेर गयो भने 
के थाहा माया त्यसै मरेर गयो भने 
के थाहा चाहना त्यसै टरेर गयो भने 

प्यारी वसन्ती !  
तिमी आउने बाटाहरूमा फूल सजाएको छु 
हृदयको आँगनीमा राग रङाएको छु 
के थाहा भोलि अनुराग गम्केन भने 
के थाहा चन्द्रकी चाँदनी चम्केन भने 
के थाहा तनै त हो साथ दिएन भने 
के थाहा मनै त हो मात चढेन भने 

प्यारी वसन्ती ! 
तिम्रो मुस्कान र वाणीले घायल कायल 
कवि सपना एक बुन्दै थियो 
चकोर चन्द्रमा टाढा टाढा
मधुर मिलन नियाल्दै थियो 
के थाहा त्यो नजर अर्कैमा पर्‍यो भने 
के थाहा त्यो कामना अन्यत्रै सर्‍यो भने 
के थाहा त्यो यौवन ढलेर गयो भने 
के थाहा जर्जर काया गलेर गयो भने 


 

प्रतिक्रिया