चितवन- २: उमेश श्रेष्ठ आफूलाई स्वत सांसद घोषणाको माग गर्न आयोग जाँदै

काठमाडौं। नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट निर्वाचन आयोगले आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित आज आयोग जाने भएका छन्। सर्बोच्च अदालतले रबि लामिछानेको नागरिकता विवादमा फैसला गर्दा अवैध ठहर गरेपछि उनको सांसद पद समेत खारेजीमा परेपछि आफू स्वत बिजयी घोषणा हुनुपर्ने श्रेष्ठको भनाई छ।

नेता श्रेष्ठ आज बिहान ११ः३० बजे निर्वाचन आयोग जाने र दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने तयारीमा छन्।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खाली भएको छ।

तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट उम्मेदवार भएका श्रेष्ठ झन्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए। लामिछानेको पद खारेजीसँगै दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग उनको छ।

निर्वाचनको उम्मेदवारी दर्ता भएपछि लामिछानेको नागरिकता सम्बन्धमा पाँच वटा उजुरी परेकोेमा निर्वाचन कार्यालयले त्यसलाई वेवास्ता गरेकाले यस्तो अवस्था आएको नेता श्रेष्ठले दृश्य टिभीसँग बताए।

'त्यतिखेर नै निर्णय गरिदिएको भए राम्रो हुनेथियो तर निर्वाचन कार्यालयले किन निर्णय नगरी वेवास्ता गर्यो मलाई आश्चर्य लागेको छ, लामिछानेको पद खारेज भएपनि निर्वाचन नै त खारेज भएको होइन नि। यसमा मेरो स्वाभाविक दावी रहन्छ भनेर म आयोग जान लागेको हो' श्रेष्ठले भने।

प्रतिक्रिया