जलचराको प्रजाति बढ्दै सङ्ख्या घट्दै

 


     “उड्थ्यौ चट्ट परेर चञ्चल भई स्वच्छन्द आकासमा
     पुग्थ्यौ चाख्न मिठामिठा फलहरू साथी लिई साथमा ।
    छैनन् पल्लवयुक्त वृक्ष वनमा सिध्याइए वल्लरी
    क्रीडा गर्न नपाइने छ धरती बाँच्छ्यौ चरी केगरी ।”

–वासुदेव पौडेल
गण्डकी, १९ माघ:  कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता संग्रह ‘दुलही’ को बाँच्छ्याँै चरी केगरी शीर्षकको यस कवितांशमा भनिए जस्तै पछिल्लो समयमा बस्ती विकासको क्रम बढ्दा चराहरूको वासस्थान पनि नासिँदै गएका छन् । बर्सेनि चराहरूको सङ्ख्या घट्दै गएको छ । बर्सेनि हुने गणनामा चराको सङ्ख्या घट्दो क्रममा देखाइएको छ । विश्वव्यापीरुपमा प्रत्येक वर्ष जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्म जलचराको गणना गरिने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । पोखरामा पनि प्रत्येक वर्ष जलचराको गणना गर्दै आइएकामा यसवर्ष जनवरीको १२, १३ र १४ तारिखमा तिनको गणना गरिएको उहाँले बताउनुभयो ।    
    
तालैतालको सहर पोखरामा रहेका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीचभाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदीलगायत खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् ।


 पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङहुँदै बग्ने कालीगण्डकीसहित विभिन्न जल सम्पदाका कारण पोखरा मात्र नभइ समग्र गण्डकी प्रदेश नै चराचुरुङ्गीका लागि आकर्षक वासस्थानमा मानिन्छ । अध्यक्ष घिमिरेका अनुसार पोखरामा यसवर्षको जलचरा गणना लेखनाथका सात ताल, विजयपुर खोला र फेवाताल आसपासका क्षेत्रमा गरिएको थियो । 

बर्सेनि चराको सङ्ख्या घट्दै जानु यतिखेर चुनौतीका रुपमा देखिएको छ । पछिल्ला तीन वर्षको तथ्याङ्कले पोखरा र आसपासका क्षेत्रमा जलचराको सङ्ख्या घट्दो क्रममा देखिएको छ । सन् २०२१ को गणनामा पोखरा र आसपासमा ४६ प्रजातिका जलचरा भेटिएका थिए । त्यस वर्ष कूल चराको सङ्ख्या तीन हजार ८५ गणना गरिएको थियो । सन् २०२२ को गणनामा ४५ प्रजातिका  तीन हजार आठ चरा भेटिएका थिए । यस वर्ष(सन् २०२३)को गणनामा प्रजाति थपिएर ५४ पुगे पनि सङ्ख्या भने घटेर दुई हजार ६२२ पुगेको उहाँले जानकारी दिनुभयो । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम बर्सेनि बढ्दै गए पनि चराको सङ्ख्या घट्दै जानु चुनौतीका रुपमा लिइएको छ । 

नेपालमा आउने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेका छन् । पोखरा आसपासमा विभिन्न प्रजातिका चरा पाइने भएकाले यो चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक गन्तव्य भएको यस क्षेत्रका अन्वेषकले बताए । विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट पोखराका तालतलैयामा हिउँदे चरा आउने गरेका छन् । पोखराको फेवासहित यहाँका बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालमा प्रत्येक वर्ष पाहुना चरा आउने गरेका छन् ।

पछिल्ला वर्षमा सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवम् सिमसारमा हुने गरेको अतिक्रमणले सङ्कटमा पर्दै गएको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले बताउनुभयो । पोखरा र आसपासमा चराका वासस्थान विभिन्न कारणले सङ्कुचन हुँदै गएको उल्लेख गर्दै उहाँले नवनिर्मित पोखरा विमानस्थल र आसपासमा बस्ने गरेका प्राय मांशाहारी प्रजातिका चरा आफ्नो वासस्थान हराएसँगै वरपरका विभिन्न स्थानमा वासस्थान खोज्दै गएको बताउनुभयो । 

पोखराको फेवातालबाट लेखनाथ तालमा चरा विचरणका लागि आवतजावत गर्ने गरेको पनि सचिव ढकालले बताउनुभयो । सामान्यतः बिहानको समयमा फेवातालबाट ठूलै समूहमा चरा लेखनाथका तालमा चर्न जाने र बेलुका फर्कने गरेको उहाँको भनाइ थियोे । हिउँद सुरु भएसँगै चीन, मङ्गोलिया, साइबेरियालगायत स्थानबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम, कागबेनी हुँदै पोखरा र आसपासमा क्षेत्रमा आउने गरेका  क¥याङकुरुङ पछिल्ला वर्षमा कम देख्न थालिएको यहाँका बुढापाकाले बताए  ।

ठूला ठूला झुण्डमा आउने क¥याङकुरुङ पोखरा र  कालीगण्डकी उपत्यका पार गर्दै भारतको राजस्थानलगायत स्थानमा पुग्ने गर्दछन् । कास्की र आसपासका क्षेत्रमा क¥याङकुरुङ आउँदा र फर्कदा उनीहरूको झुण्डलाई हेर्दै लहरेबाली लगाउने हो भने त्यसले राम्रो उत्पादन दिने जनविश्वास अझै पनि कायमै रहेको स्थानीयवासी रामचन्द्र सुवेदीले बताउनुभयो । स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित देवपूजे ढुङ्गालाई प्रत्येक वर्ष क¥याङकुरुङ आउँदा र जाँदा अनिवार्य घुमेर जाने गरेको त्यहाँका वासिन्दाको भनाइ थियो ।

विगतमा खोला किनारा र अन्य जलाशयमा पाइने चरा पनि अहिले पाउन छोडिएको छ । लेखनाथ क्षेत्रस्थित रुपातालमा १०÷१२ वर्ष अघिसम्म देखिने गरेको दाह्रे हाँस (रजहाँस) र सेतोहाँस अहिले पाउन छोडिएको छ । पछिल्ला वर्षमा पोखरा र आसपासका जलाधार क्षेत्रमा पहँेला टाउके हाँस, सुन्जुरे हाँसलगायत चराका प्रजाति साथै सङ्ख्या पनि कम हुँदै गएको अध्ययनले देखाएको छ ।  (रासस)

प्रतिक्रिया