‘प्रचण्डलाई सम्झाउँछौं, राष्ट्रपति कांग्रेसकै हुन्छ’

काठमाडौं। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले भावी राष्ट्रपति आफ्नो पार्टीको व्यक्ति हुनुपर्ने बताएका छन्। राष्ट्रपति पद हत्याउन सत्तारुढ दलहरुवीच कडा प्रतिष्पर्धा चलिरहेका बेला सांसद कोइरालाले नेपाली कांग्रेसकै नेता नयाँ राष्ट्रपति हुने दावी पनि गरे।

बुधबार सुनसरीको जमकोटी बराहक्षेत्र नगरको कांग्रेस कार्यसमितिले आयोजना गरेको ‘नोना कोइराला स्मृति भवन’ शिलान्यास कार्यक्रममा बोल्दै नेता कोइरालाले यो कुरा बताएका हुन्।

‘राष्ट्रपति नेपाली कांग्रेसकै हुनुपर्छ र हुन्छ पनि। हामी प्रचण्डजीलाई सम्झाउँछौं, कुरा पनि भैरहेको छ’ नेता कोइरालाले जोड दिएर भने—‘ यस बिषयमा हामी नेताहरुवीच कुनै मतभेद छैन।’

अर्को प्रसंगमा कोइरालाले गलत कुराको विरोध गर्न डराउन नहुने चर्चा पनि गरे। उनले आफ्ना कान्छा काका गिरिजा प्रसाद कोइराला पहिलो पल्ट प्रधानमन्त्री भएपछि ग्यासको मूल्य बढाएको प्रसंग सम्झँदै आफूहरुले त्यस निर्णय विरुध्द बिराटनगरमा हंगामा गरेपछि सरकारले निर्णय फिर्ता लिएको उदाहरण दिए। 

नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाले गलत कुराको विरोध गर्न डराउन नहुने भनी सम्झाएको विगत स्मरण गर्दै नेता कोइरालाले पार्टीभित्र भएका गलत निर्णय विरुध्द आफू जहिले पनि डटेर उभिन पछि नपर्ने बताए।

प्रतिक्रिया