लोकतन्त्र लम्पसार परेको छ

rokat basnet copy
                                                                  
वीरता, क्रन्ति र प्रतिक्रान्तिका
जीवन्त कथा र इतिहास बोकेको मेरो देश
लोकतान्त्रिक गणतन्त्रको संघीय ढाँचाभित्र 
बहुदलीय पार्टी पद्दतिको
संसदीय प्रणालीको चंगुलमा पुगेर
लोकतन्त्र लम्पसार परेको छ ।

एकीकरणपश्चातका दिनमा
पर्वैपर्व र काण्डैकाण्डले भरिएको मेरो  देश 
आधुनिकता र स्थिरताका लागि
विश्वले खोज र अनुसन्धानमा  होड गर्दा 
भण्डारखाल, अलौ, कोत जस्ता
संहारको रक्ताम्य इतिहासमा लत्पतिएको छ ।

दरबारियाहरुको षड्यन्त्रमा
नराम्ररी पिल्सिएको मेरो देश 
काजीखानदानको शत्रुतापूर्ण भासमा परेर
साम्राज्यवादको पर्खालमा साहरा लिँदै
जहाँनिया राणाशासनमा एक शताब्दी
मेरो देश सिका लागेको थियो ।

बहुदलीय प्रजातन्त्रमा 
दलीय राजनीति खेलेको मेरो देश
भारतीय उपमहादीपको कठपुतली बन्दै
दल र दरबारको खिचातानीमा फसेर
दलविहिन पञ्चायती व्यवस्थामा
रैति भएर ओत लागेको थियो ।

असंलग्न परराष्ट्र र पञ्चशीलको 
सिद्धान्त बोकेर अस्तित्व जोगाएको मेरो देश
पडोषीको निगाहमा निर्दल हटी
बहुदलीय व्यवस्थामा रुपान्तरित भयो  
मलामी र जन्तीका लागि समाजलाई नकार्दै
राजनीतिक दलमा विभक्त भयो ।

राजनीतिक र सामाजिक आवेग भरिएको 
जनयुद्धको कहाली लाग्दो दशक भोगेको मेरो देश
दलीय षडयन्त्र र सत्तामोहको गठबन्धनमा 
संघीय लोकतान्त्रिक गणतन्त्रको लगौटी लगाएर
प्रतिपक्षविहीन संसदीय प्रणालीमा 
लोकतन्त्र लम्पसार परेको छ ।
 

प्रतिक्रिया