बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प जाँदा एक को मृत्यु, एक घाइते

सुदूरपश्चिम, १० माघ: मंगलबार दिउँसो गएको भूकम्पमा परेर बाजुरा गौमुल गाउँपालिका-२ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको जमिन हल्लेर ढुंगाले लाग्दा घटनास्थलमै मृत्यु भएको छ।  

घाँस काट्दै गर्दा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको मृत्यु भएको हो। यस्तै, गौमुल गाउँपालिका-१ अम्लिसमा भूकम्पले गोठ भत्किँदा सोही ठाउँका भेडा गोठाला रामदत्त रोकाय घाइते भएका छन्।

 आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर  पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो । 
  
सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ । (रासस)

प्रतिक्रिया