आत्महत्या गर्न प्रोत्साहन गर्ने भन्दै ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा


 भैरहवा, ९ माघ : भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा सोमबार जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ । त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको र सो रेष्टुरेण्ट बन्द गराएको छ ।

    देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा आउने ग्राहकलाई लक्षित गरी रेष्टुरेण्टको कोठा जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले रेष्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताउनुभयो । उहाँले स्थानीय मिडियाबाट सो रेष्टुरेण्टबारे जानकारी भएको र अनुगमन गर्दा कैफियत देखिएको कारण बन्द गराइएको बताउनुभयो ।

    फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो । सहायक प्रजिअ अर्यालले रेष्टुरेण्ट बन्द गर्न लगाइ भोलि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको बताउनुभयो । उहाँले यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया