घाँसेमैदान थप्दै चितवन राष्ट्रिय निकुञ्ज

चितवन। वन्यजन्तुको विचरणका लागि चितवन राट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्र बनाएको छ । निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम सुरु गरेको हो । 
    
अहिले निकुञ्जको तमोरताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार यस आयोजनाअन्तर्गत दुई सय २५ हेक्टर क्षेत्रफमा घाँसेमैदान व्यवस्थापन र निर्माणको काम सुरु गरिएको हो । घाँसेमैदान व्यवस्थापनका लागि रु ३३ लाख ७५ हजार र नयाँ निर्माणका लागि रु ३५ लाख बजेट विनियोजन भएको तिवारीले बताए । उनले निकै कम रकममा ठेक्क परेको बताउँदै अहिले पश्चिमी क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको बताए ।

निकुञ्जको लामिताल, सुखिभार, भिम्लेलगायतका क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ । यस्तै तराई भू्परिधि कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलको घाँसेमैदन व्यवस्थापनको कामसमेत भइरहेको उनले जानकारी दिए । यसका लागि रु १५ लाख बजेट विनियोजन भएको छ ।

निकुञ्जको घाँसेमैदानमा रहेका ठूला घाँस काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यान काटेर निर्माणको काम भईरहेको छ । पश्चिम क्षेत्रको घाँसेमैदान व्यवस्थापनको काम सकिए लगत्तै पूर्वी क्षेत्रमा काम सुरु गरिने छ । पूर्वी क्षेत्रमा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले अनुमती लिएर घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको तिवारीले बताए । चैत महिनाभित्र घाँसेमैदान व्यवस्थापनको काम सक्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए ।

निकुञ्जको १० प्रतिशत भूभाग घाँसेमैदान रहेको छ । घाँसेमैदान व्यवस्थापनसँगै आहारा प्रजातिका जनावरको सङ्ख्या बढ्ने र जनावर मानवीय बस्ती क्षेत्रमा जानेक्रम कम हुने छ । घाँसेमैदान व्यवस्थापनले मानव र वन्यजन्तुबीचको द्वन्द्वमा समेत कमी ल्याउने अपेक्षा निकुञ्जले लिएको छ ।

सुन्तला उत्पादनमा वृद्धि 

जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनमगरका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष दुई सय मेट्रिकटनले सुन्तला उत्पादनमा वृद्धि भएको हो । उनका अनुसार यस वर्ष एक हजार ३७ दशमलव ५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।

जिल्लाको पहाडी क्षेत्रमा एक सय २५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । सोही क्षेत्रफलमा गत वर्ष आठ सय ३७ दशमलव ५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा नौ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ मा सुन्तलाखेती हुने गरेको छ । यस वर्ष उत्पादन बढ्नुमा नयाँ रोपेका बोटले उत्पादन दिन सुरु गर्नु, कृषकले सुन्तला बगैँचामा राम्रो हेरचाह र मलजल गर्नुका कारण रहेका उनले बताए ।

उनले भने, “अघिल्ला वर्षमा सिँचाइको अभाव, बगैँचा व्यवस्थापनको कमी र पुराना बोट हुनु थियो ।” अहिले सुन्तलाका लागि उपयुक्त सिजन भएका कारणलेसमेत उत्पादन बढेको बताए ।(रासस) 

प्रतिक्रिया