क्रिकेटर सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । जबरजस्ती करणी आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

यसअघि जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको थियो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

देशबाहिर जान भने सरकारको अनुमति लिनुपर्ने सर्त आदेशमा उल्लेख गरिएको अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए ।

शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने भएको छ। धरौटीको प्रक्रिया पूरा भएपछि उनी थुनामुक्त हुनेछन् ।

गत असोज २० गते नाबालिग बलात्कारको अभियोगमा उनी पक्राउ परेका थिए । भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

प्रहरीले लामिछानेविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । त्यस बेला लामिछाने केन्यासँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए ।

त्यहीँबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।

जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएपछि आफू निर्दोष भएको दाबी गर्दै लामिछाने उक्त मुद्दाविरुद्ध उच्च अदालत पाटन गएका थिए । आरोप लागेपछि उनी क्रिकेट टिमको जिम्मेवारीबाट मुक्त गरिएका थिए ।

प्रतिक्रिया