संसदीय निर्वाचनको देशव्यापी समीक्षा गर्दै आयोग

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको देशव्यापी समीक्षामा उत्रिएका छन्। थपलियाले ती दुइ निर्वाचनमा संविधान अनुसारको प्रतिनिधित्व र मतदाता सहभागिता बारेमा प्रदेश तहमै अन्तरक्रिया गर्दै समीक्षा गर्न थालेका छन्। 

प्रमुख आयुक्त थपलियाले आज दोलखामा यस्तै कार्यक्रममा बोल्दै दुइ निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताएका छन्।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रमको बागमती प्रदेशको दोलखामा थालनी गर्दै थपलियाले समीक्षाका आधारमा आगामी दिनमा निर्वाचनलाई कसरी थप व्यवस्थित गराउन सकिन्छ भन्ने मार्गदर्शन गर्ने बताए।

निर्वाचन निष्ठा, सिद्धान्त र विचारका आधारमा जितिने भएकाले कुनै पनि पक्षबाट हुने कानुनविपरीतका हर्कतलाई कसैले पनि समर्थन गर्न नसक्ने उनले स्पष्ट गरे।

“मतदाता नामावलीलाई शुद्ध बनाउन गाउँपालिकासम्म परामर्श गरी सुझाव लिइएको थियो। मृत्यु भएका र बसाइँ सरेकाहरूको नामावली अद्यावधिक गराइदिन आग्रह गरिएको थियो। हाम्रो विश्वास मतदाता नामावली शुद्ध छ भन्ने हो”, प्रमुख आयुक्त थपलियाले भने, “तर गलत नामावली छ भने त्यसप्रति यहाँहरू नै जिम्मेवार हुनुहुन्छ। मरेका मान्छेलाई मतदान गराएर दोलखाले बदनामी कमाएको म विश्वास गर्दिनँ। छ भने कसरी हुन गयो यहाँ राखिदिनुहोला।”

कार्यक्रममा आयोगका उपसचिव कमल ज्ञवालीले यसपटकको निर्वाचनमा भएका आँकडा, असल अभ्यास, समस्या र चुनौतीसहितको प्रस्तुत गरेका थिए।

मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्ला प्रमुख र सरोकारवालाहरूको सहभागिता रहेको समीक्षा कार्यक्रममा मतदाता नामावली, मतदान प्रक्रिया, जनशक्ति, सामग्री व्यवस्थापन, अनुगमन, निर्वाचन कानुन, सामाजिक सञ्जालको अनुगमन, मतदाता शिक्षा, पर्यवेक्षण, सूचना प्रविधि, लैङ्गिक समावेशीकरण आदि विषयमा समूहगत छलफल हुने जनाईएको छ।
 

प्रतिक्रिया