अर्थ मन्त्रालयमा दुइ सचिव नियुक्त, अर्थमा तोयम र राजश्वमा घिमिरे

काठमाडौं। सरकारले अर्थ मन्त्रालयका दुइ सचिव नियुक्त गरेको छ। जसमा अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई नियुक्त गरेको हो। 

राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए।
 
विष्णुप्रसाद पौडेलले अर्थमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै आफ्नो मन्त्रालयमा सचिव परिवर्तन गरेका हुन्। अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल थिए्। 

‘अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई नियुक्त गर्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ,’ अर्थ मन्त्री सचिवालय स्रोतले बतायो।

 
अर्थ सचिव नियुक्त रायासँग राजस्व प्रशासनमा लामो समय काम गरेको अनुभव छ। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, दुई नम्बर कर कार्यालय, अन्तःशुल्क हेर्ने गरी आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, भन्सार विभाग उपमहानिर्देशक, भन्सार विभाग महानिर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख भई काम गरिसकेका छन्।

राजस्व सचिव नियुक्त घिमिरेले लेखा अधिकृत हुँदा अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखामा काम गरेका थिए। अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा पनि घिमिरेले काम गरेको अनुभव सँगालेका छन्।

प्रतिक्रिया