जीप दुर्घटना अपडेट : एकै वडाका आठसहित १२ को मृत्यु

जाजरकोट, २७ मङ्सिर : यहाँको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र  अम्मर खड्का रहेका छन् ।

त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी,  नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताउनुभयो ।

कर्णाली प्रदेश२००१च ०४२९ नंको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।
 
बिहेमा विवाद हुँदा ... 

छेडागाड नगरपालिका–५ लेवाका दीपक अधिकारीको ससुराली हो झल्कुवा । साली सम्झनाको बिहेको भोज खान उहाँ आइतबार त्यहाँ पुग्नुभएको थियो । बिहेमा रमाइलो गर्दागर्दै आइतबार दीपक र छेडागाड नगरपालिका–४ भल्कुवाका महेश थापाको बीचमा विवाद भयो ।

विवाद बढ्दै जाँदा दीपक र महेशबीचमा कुटाकुट भयो । दीपक घाइते भए । गाउँलेहरूले झगडा छुट्याए । तर दीपकलाई उक्त झगडामा आफूलाई अन्याय भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय वडावनमा जाने र त्यसपछि थलह बजार गएर उपचार गर्ने भन्दै दैलेखबाट जन्ती लिएर आएको जिपबाट प्रहरी कार्यालयसम्म पु¥याइदिन आग्रह गर्नुभयो ।
 
दीपकसँगै बिहेमा भोज खाना आएका अन्य सर्वसाधारण पनि सोही जिपमा फर्कने क्रममा उक्त जिप दशेराको भिरमा दुर्घटना भयो । उपचार र न्याय माग्न वडावन जाने दीपकसँगै अन्य बिहेभोज खाना आएका १२ जनाको मृत्यु हुन पुग्यो । 

 

जाजरकोट, २६ मङ्सिर: यहाँको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् । 

त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारी र सोही नगर वडा नं ६ वीरबहादुर खत्रीको मृत्यु भएको नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । 

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो । 

जीपमा सवार १२ जनामध्ये छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन् । घाइते जैभानको उपचारका लागि नेपालगञ्ज पठाइएको उपप्रमुख चन्द्रबहादुर थापालले जानकारी दिनुभयो । (रासस)

 

 जाजरकोट, २६ मङ्सिर : जाजरकोटमा आज जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो दुर्घटनामा परी तीन जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गमा  भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।(रासस)

प्रतिक्रिया