एमसीसीको प्रसारण लाईन निर्माणको टेण्डर खुल्यो

काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत निर्माण गरिने प्रसारण लाइनको अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) सोमबार सार्वजनिक सूचना जारी गरेर एमसिसी परियोजना अन्तर्गत निर्माण हुने ३१५ किलोमिटर प्रसारण लाइनलाई तीन लटमा बाँडेर टेण्डर आह्वान गरेसँगै एमसिसी आयोजना निर्माण हुने बाटो खुलेको छ।  

टेण्डर आह्वान गरेसँगै एमसिसी परियोजना अन्तर्गत परियोजनाले गति लिने आशा जगाएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) का कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार एमसिसीको प्रसारणलाइन निर्माणका लागि तीन लटमा छुट्याएर अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेको छ। उनले भने, ‘एमसिए नेपालले सन् २०२३ को मार्च २७ सम्मको म्याद राखेर टेण्डर आह्वान गरेको छ।’ 

एमसिए नेपालले ११९ दिनको म्याद राखेर टेण्डर आह्वान गरेको हो। पहिलो लटमा ४०० केभी क्षमताको प्रसारणलाइन लप्सेफेदी–रातमाटे–न्यु हेटौडामा ११७ किलोमिटरको निर्माण गर्न टेण्डर आह्वान गरिएको हो। त्यसैगरी दोस्रो लटमा पनि ४०० केभी क्षमताकै ९० किलोमिटर प्रसारणलाइन रातमाटे–न्यु दमौलीसम्म निर्माण गर्नका लागि आह्वान गरिएको हो।  

तेस्रो लटमा पनि ४०० केभी क्षमताकै १०८ किलोमिटर प्रसारणलाइन न्यु दमौली–न्यु बुटवल भारतीय सीमासम्म निर्माण गर्न टेण्डर आह्वान गरिएको हो। बोलपत्रमा सहभागि हुन चाहने निर्माण कम्पनी वा फर्मले आगामी चैत १३ अर्थात् मार्च २७ सम्म राखेको छ।  

एमसिए नेपालले डिजाइन, सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेष्टिङ, कमिसनिङ मोडलमा निर्माण गर्ने गरी टेण्डर आह्वान गरेको हो। टेण्डर प्रक्रियामा छनोट हुने कम्पनीले आफैंले डिजाइन तयार पारेर प्रसारणलाइन निर्माणको काम गर्नुपर्नेछ। निर्माणाधीन ३१५ डब्बल सर्किटको प्रसारण लाइनले ३ हजार मेगावाटभन्दा धेरै बिजुली आदान प्रदान गर्न सक्छ। एमसीसी परियोजना अन्तर्गत ६३० मिलियन अमेरिकी डलरमध्ये आयोजनाको प्रशासनिक खर्चतर्फ भने ७.४६ प्रतिशत अर्थात् ४६.९९ मिलियन अमेरिकी डलर खर्च लाग्नेछ। त्यसैगरी परियोजनाको पूर्वतयारीको लागि १२.७८ प्रतिशत रकम खर्च हुनेछ। एमसिए नेपालका अनुसार यो आयोजना कार्यान्वयनका लागि ८२.४० प्रतिशत रकम खर्च गरिनेछ।

एमसिए नेपालले ४०० सय केभीको डबल सर्किट ३१५ किलोमिटर प्रसारण लाइनको अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेको हो। यो प्रसारण लाइन काठमाडौंको लप्सेफेदी र नुवाकोटको रातमाटे सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म पुग्नेछ। ३१५ किलोमिटर प्रसारण लाइनमध्ये दायाँबायाँ २३/२३ मिटर छाडेर प्रसारण लाइन निर्माण गरिनेछ।

एमसिए नेपालका अनुसार एमसीसी परियोजनाको ठेक्का प्रक्रिया पारदर्शी ढंगको हुने बताउँदै आइरहेको छ। एमसीसीको ठेक्का प्रक्रिया फेडिक एलो बुकका अनुसार आह्वान गरिएको छ। एमसीसीको ठेक्का प्रक्रियामा संयुक्त राज्य अमेरिकाले कालोसूचीमा राखेका मुलुकहरू इरान, इराक, उत्तर कोरिया लगायतका मुलुकलेबाहेक अन्य जुनसुकै मुलुकका कन्ट्रयाक्टरले निर्माणमा प्रतिस्पर्धा गर्न पाउनेछन्। एमसीसीको अन्तर्राष्ट्रिय टेण्डरमा सरकारी निकायबाहेक अन्य जुनसुकै निर्माण व्यवसायी पनि प्रतिस्पर्धा गर्न सक्नेछन्। टेण्डर प्रक्रियामा सहभागी हुन इच्छुक कम्पनीले एमसीसीको प्रोग्राम प्रोक्योरमेन्ट गाइडलाइन अनुसार भाग लिनुपर्नेछ।  

यसमा सबैभन्दा कम वा धेरै रकम कबोल गर्नेभन्दा पनि ठेकेदार कम्पनीले काम गर्न सक्ने वा नसक्ने पक्षलाई विशेष गरेर हेर्ने गरिन्छ। एमसिए नेपालले प्रसारण लाइन निर्माणको टेण्डर आह्वान गरेको करिब एक महिनापछि सवस्टेशन निर्माणको टेण्डर आह्वान गर्ने जनाएको छ। एमसिए नेपालले यो परियोजना निर्माणको काम भने २०८० देखि निर्माण हुने जनाएको छ। यो आयोजना इन्ट्री टु फोर्स सन् २०२३ को अगष्ट महिनादेखि गर्ने कार्यतालिका बनाइएको छ।

 

प्रतिक्रिया