नक्कली प्रशासकीय अधिकृत पक्राउ


 ढोरपाटन, १२ मङ्सिर: जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गर्ने गोरखाको सहिद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो ।

    प्रहरीले बजारमा ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठी स्थित प्रशासन कार्यालय परिसरबाट परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । प्रहरीले निजामती कर्मचारीको पोशाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरू र आकाशचन्द्र परियार प्रशासकीय अधिकृतको रबर छाप बोकिरेहको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । 

    पक्राउ परेका परियार बसेको होटलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप र दस्तखत भएका पत्र, विभिन्न कार्यालयका छापहरू (स्ट्याम्प), ल्यापटप, नगद रु ६३ हजार, पेनड्राइभलगायतका दसीका सामान फेला पारेको उहाँको भनाइ छ । (रासस)

प्रतिक्रिया