निर्वाचन परिणाम आउँदै गर्दा किन झापा आउन लागे पूर्व राजा?

बिराटनगर। पूर्व राजा ज्ञानेन्द्र शाह भोलि झापा जाने भएका छन्। उनी एक महिना दमकको निजी चिया बगान हिमालय चिया बगानस्थित दरबारमा रहने छन्। आमनिर्वाचनको मत परिणाम आउने क्रम जारी रहेकै बेला पूर्व राजाको झापा भ्रमण अर्थपूर्ण रहने बुझिएको छ।

पूर्व राजाले महिना दिन दमक बसाईमा विभिन्न व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको निर्मल निवाससँग सम्बध्द एक उच्च सूत्रले बतायो। 

आमनिर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको र राजसंस्थाको पुनर्वहालीको मुख्य मुद्दा उठाएर निर्वाचनमा भाग लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले केही स्थानमा बिजय हासिल गरेको सन्दर्भमा पूर्व राजाको झापा भ्रमण अर्थपूर्ण रहन सक्ने अर्को राजनीतिक सूत्रको भनाई छ। एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिकमा आफ्नो प्रतिनिधित्व राम्रै बनाउन सक्ने विश्लेषण गरिएको छ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई पछि पारेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई पूर्व राजा शाहको शुभेच्छा रहेको बताईन्छ। 
 

प्रतिक्रिया