बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते


महेन्द्रनगर, ४ मङ्सिर: बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । 

    उहाँका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम पाध्याय, खड्क ऐडी र प्रेम थापा गम्भीर घाइते भएका छन् । 

    बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका–९ कालिका मावि मतदानस्थलमा समेत प्रहरीले हवाई फायर गरेको थियो । सो ठाउँमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको थियो ।

    त्यसैगरी बाजुराको बूढीनन्दा नगरपालिका, बूढीगङ्गा नगरपालिकालगायतका केही पालिकामा विवाद भएपछि मतदानसमेत स्थगन भएको छ ।

    बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बाजुरामा मतदान स्थगन तथा त्रिवेणी नगरपालिकामा भएको घटनासम्बन्धमा जानकारी लिने कार्य भइरहेको बताउनुभयो । (रासस)

प्रतिक्रिया