पर्फ्युम र पसिना

लाखौं युवाले 
परदेशबाट प्रियजनलाई पठाएको 
पसिनाको पुलिन्दा 
गाउँमा पुग्दा पर्फ्युममा अनुवाद भयो।

जिर्मलेकी जसमाया दिदी 
कुँडुलेकी कान्छी सानिमा 
सिद्धिथुम्काका शक्तिमान दाजु
चमैताका चिमोरिया मामा 
सबै मग्मगाएका छन् 
विदेशी सुवासले।

उहिले 'घाँस दाउरा' गर्ने आमाहरु 
हलो-कोदालो चलाउने मामाहरु 
झापाबाट नूनको भारी बोकेर 
सोक्तिम र बर्दुतिर उकालो चढ्नेहरु 
ठुस्स पसिनाले टाढै गन्हाउँथे ।

अचेल गाउँलेहरु पनि 
विदेशी पर्फ्युमले सुगन्धित छन् 
पालेदेखि पण्डितसम्म 
खलासीदेखि खरिदारसम्म 
सिपाहीदेखि सिडिओसम्म 
सबै मगमगाएका छन्।

पेर्मेजुङ, गोदक र जमुनासम्म 
गोर्खे, बर्फल्याङ र माईमजुवासम्म 
जताततै पेरिसको पर्फ्युम बहुमतमा छ
र, अल्पमतमा पर्दैछ पसिना ।

उत्तरका अग्ला पहाडहरु हेर्दै 
म एउटा होचो मान्छे 
मनमनै सोचिरहेको छु 
स्वदेशी पसिनालाई 
विदेशी अत्तरले विस्थापित गर्दा 
किन रमाएको छैन मेरो मन ?

प्रतिक्रिया