नजिकिँदै निर्वाचन : शीर्ष नेता आउने क्रम सुरु

महेन्द्रनगर। आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिममा प्रमुख राजनीतिक दलका शीर्ष नेता आउने क्रम सुरु भएको छ । आफ्ना पार्टी एवं गठबन्धनका उम्मेदवार जिताउन चुनावीसभामा सहभागी हुन नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेतृत्व सुदूरपश्चिम आएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा हुने चुनावी कार्यक्रममा सहभागी हुन बुधबार धनगढी पुगे। सत्ता गठबन्धनबाट डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका देउवाले आज डडेल्धुरा सदरमुकाम खलङ्गा बसपार्कमा हुने चुनावी सभामा सहभागी हुने कार्यक्रम छ । देउवा डडेल्धुराका आधा दर्जनभन्दा बढी स्थानमा चुनावी सभामा सहभागी भएर मत माग्ने र यही कात्तिक २० गते काठमाडौँं फर्किने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका देउवालाई आसन्न निर्वाचनमा नेपाली कांग्रेस (बिपी)बाट कर्णबहादुर मल्ल, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार विक्रम शाही र सागर ढकाललगायत छन् । नेकपा (माओवादी केन्द्र)को गतिलो साथ पाएका देउवालाई अन्य उम्मेदवारले निर्वाचन हराउन मुस्किल पर्ने आकलन गरिएको छ । सुदूरपश्चिममा सत्ता गठबन्धनले यहाँ नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले सिट बाँडफाँड गरेको छ। 

सोह्र प्रतिनिधिसभा रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसले नौ सिटमा सत्ता गठबन्धनबाट उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले तीन प्रतिनिधिसभा सिट बाँडफाँड गरेको छ ।

त्यसैगरी चुनावी सभामा सम्बोधन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा सुदूरपश्चिम आउने कार्यक्रम तय भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटिका सह–इन्चार्ज राजेन्द्रसिंह रावलले शुक्रबार दार्चुलाबाट अध्यक्ष ओलीको चुनावी अभियान सुरु हुने बताए । उनले शुक्रबार दार्चुला, बैतडी र कञ्चनपुरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । (रासस) 

प्रतिक्रिया