एमालेको घोषणापत्र सार्वजनिक

एकसय पचास सिट जित्ने ओलीको दावी

काठमाडौं। एमाले अध्यक्ष केपीशर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उनको पार्टीले एकसय पचास सिट जित्ने दावी गरेका छन्। 

ओलीले माओवादीले यो चुनावमा कांग्रेसले बोकिदिएका कारण १५ सिटजति जित्न सक्ने अनुमान गरे। उनले आगामी निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपतिकतर्फ गरेर १५० सिट ल्याउने दावी पनि गरे।

घोषणापत्र सार्वजनिक गरेपछि सम्वाददाताहरुसँगको प्रश्नोत्तरमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग अब सहकार्य सम्भव नभएको बटमलाइन सुनाए।

चुनावपछि प्रचण्ड र नेपालसँग सहकार्य गरेर सरकार बनाउने कोशिश पनि हुन्छ भन्ने   प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो जवाफ दिएका हुन्। ओलीले आफूले माया गरेर साथ दिएका प्रचण्ड र नेपालले आफैंमाथि छुरा धसेको आरोप लगाए।

अध्यक्ष ओलीले वर्तमान पाँच दलीय गठबन्धन मंसिर ४ को मतदानसँगै समाप्त हुने घोषणा पनि गरेका छन्।

त्यसैगरी एमालेले राष्ट्रिय हित र स्वाधिनतालाई आफ्नो पहिलो प्राथमिकताको बिषय बनाएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारिएको  घोषणापत्र आज सार्वजनिक गर्दै एमालेले अरु भने यसअघि कै आश्वासनको पुलिन्दालाई नयाँ शैलीमा प्रस्तुत गरेको छ।

आज यहाँ आयोजित एक समारोहमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। एमालेले श्रव्य दृश्यका माध्यमबाट आफ्नो दलले गर्ने काम कारबाहीका बारेमा जानकारी दिएको छ। कुल २० हजार शब्द रहेको घोषणापत्रको अध्यक्ष ओलीले डिजिटल अनावरण गर्दै सार्वजनिक गरेका हुन्। घोषणापत्रमा एमालेले राष्ट्रिय हित स्वाधीनताको रक्षामा जोड दिएको छ।

राजनीतिक स्थायित्वमा जोड दिएको सो पार्टीले मितव्ययी, पारदर्शी र जनउत्तरुदायी शासन व्यवस्था, राष्ट्रिय पूँजी निर्माण र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो घोषणापत्र केन्द्रित रहेको जनाएको छ। एमालेले आफ्नो घोषणापत्र कार्यान्वयन हुने २० वटा आधार पनि प्रस्तुत गरेको थियो।

प्रतिक्रिया