समाजसेवी गोयलको राष्ट्रिय सम्मान

भरत कोइराला-

काठमाडौं। देशमा भ्रष्टाचारी, कमीशनखोर, सत्ताका आसेपासे र अपराध कर्ममा लिप्त व्यक्तिहरु सम्मानित ठाउँमा पुगिरहेको तथा सम्पती र सत्ता आर्जनलाई नै प्रमुख लक्ष्य ठानिएको वर्तमान परिवेशमा बिराटनगरबासीहरुले एक सच्चा समाजसेवीको भव्य नागरिक अभिनन्दन गरेका छन् । ती समाजसेवी हुन् दीनबन्धु गोयल ।

दीनबन्धु गोयल ज्यादा ख्याती कमाएका राष्ट्रिय स्तरका र चर्चित उद्योगपति होइनन् । तर, नागरिकहरुले उनीहरु प्रति जुन श्रद्धा र सम्मान प्रकट गरे त्यो राष्ट्रिय स्तरका बरिष्ठ उद्योगपति र व्यापारीहरुले पनि पाउन दुर्लभ हुन्छ । उनले प्राप्त गरेको यो श्रद्धा, सम्मान र गर्व गर्ने लायक अभिनन्दनले अन्य उद्योगपति र व्यापारीहरुलाई पनि समाज सेवाको काममा लाग्न उत्प्रेरित गरेको हुनुपर्दछ ।

हालै विराटनगरको सिटी प्यालेसमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि देशका प्रथम राष्ट्रपति डा। रामबरण हुनुहुन्थ्यो भने उहाँलाई सम्मान गर्न श्री पशुपतिनाथका मुलभट्ट हिलयाना गशेण पनि पुग्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत तथा उद्योग बाणिज्य क्षेत्रका संघसंस्थाहरु, शैक्षिक, साहित्यिक र सामाजिक क्षेत्रमा कृयाशील प्रतिष्ठानहरु, संचारमाध्यम तथा बौद्धिक जगतका विशिष्ट व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो । ३ सय भन्दा बढी संघसंस्थाहरुले उहाँलाई अभिनन्दन पत्र अर्पित गरेका थिए । उहाँलाई अभिनन्दन गर्ने कार्यक्रममा मोरङका अतिरिक्त झापा र सुनसरीका सामाजिक संघसंस्था र प्रतिष्ठित व्यक्तिहरुको पनि व्यापक सहभागिता रहेको थियो ।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष सुरेशकुमार शर्माको अध्यक्षतामा गठित नागरिक अभिनन्दन समारोह समितिमा प्रतिष्ठित, सामाजिक र बौद्धिक व्यक्तित्वहरु रहेका थिए ।

करिब पाँच दशक अघि झापाको भद्रपुरबाट व्यापारिक क्षेत्रमा प्रवेश गरेका गोयल परिवारको कार्यक्षेत्र झापा, मोरङ र काठमाडौं रहेको छ । चार दाजुभाई मध्ये ओम प्रकाश गोयलको असामयिक निधन भए पनि अन्य दाजुभाईले निकै सकृयता र लगनका साथ विभिन्न क्षेत्रमा व्यापार र उद्योग संचालन गर्दै आएका छन् ।

जेठा दाजु महाबीर गोयलले पंचायतकालमा गुप्त रुपमा नेपाली कांग्रेस र प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पुर्याएका थिए । त्यस बापत स्थानीय प्रशासनले आतंकित गरे पश्चात् उनीहरुले बिराटनगरमा व्यवसाय प्रारम्भ गरेका हुन् ।

दीनबन्धु व्यापार व्यवसाय भन्दा सामाजिक कार्यमा सकृय छन् भने कान्छा भाई राजकुमार गोयल दाजुहरुसँगै व्यवसायीक क्षेत्रमा कृयाशील छन् । राजकुमार भन्छन्– मेरो लागि दाजुहरु भगवानतुल्य हुन्, उहाँहरुको मार्ग दर्शनमा रहेर काम गर्न पाउनु मैले आफ्नो सौभाग्य ठानेको छु । दाजु दीनबन्धु सामाजिक क्षेत्रमा बढी सकृय भएर हाम्रो परिवारको प्रतिष्ठा बढाई दिनु भएकोमा हामीलाई गौरव छ ।

हामी सबै काँधमा काँध मिलाएर हिडेको छौं । दीनबन्धुका दुई छोरा र एक छोरी छन् । छोराहरु अनुराग र अभिषेक नेपाल बाहिर कार्यरत छन् ।

भनिन्छ– दीनबन्धुले आफ्नो आयस्रोत मध्ये ८० प्रतिशत जति सामाजिक काममा लगाउने गर्नुभएको छ । उहाँको योगदानबाट झापा, मोरङ र सुनसरीका ३ सय ५० भन्दा बढी शैक्षिक र सामाजिक संघसंस्थाहरु लाभान्वित भएका छन् । विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, भवन निर्माण गरिदिने, स्वास्थ्य सम्बन्धी संस्थाहरुलाई सहयोग गर्ने, धार्मिक तथा सांस्कृतिक कार्यहरुमा योगदान गर्ने कामलाई प्राथमिकतामा राखेका छन् ।

व्यक्तिगत रुपमा सरल, सहज र मृदुभाषि उनी अत्यन्त लोकप्रिय देखिन्छन् । अन्य व्यपारीहरु जस्तो उनको कुनै राजनीतिक महत्वकांक्षा र पदको मोह   देखिदैन । समाजसेवामा लाग्नुको पछाडि कुनै व्यक्तिगत स्वार्थ पाइदैन । यही कारणले पनि उनले समाजमा विशिष्ट सम्मानपूर्ण स्थान प्राप्त गरेका हुन् । उनको यो विशाल र भव्य नागरिक अभिनन्दनले दीनबन्धुको लोकप्रियता उजागर गर्नुका साथै उनको छबिलाई गरिमापूर्ण बनाएको टिप्पणी गरिन्छ ।

प्रतिक्रिया