रहिनन्  वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ


 चितवन, ६ कात्तिक: वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षका उमेरमा आजबिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँ अविवाहित हुनुहुन्थ्यो । 

वरिष्ठ समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो । उहाँलाई गत असोज २५ गते सो अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा  भर्ना गरिएको थियो । उपचारका क्रममा पूर्व सांसद श्रेष्ठको आज बिहान निधन भएको उहाँका धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिनुभयो । नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुनुहुन्छ । धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति रु एक अर्ब भन्दा माथिको रहेको छ ।  विसं १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा श्रेष्ठको जन्मभएको थियो ।  

आज बिहान ९ः३० बजेबाट १०ः३० बजेसम्म उहाँको पार्थिव शरीरलाई  कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने  र  यसपछि उहाँ संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा केहीबेर राखेर दिउँसो १ बजे देवघाट लगिने  कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । पार्टीले शोक वक्तव्य जारी गर्दै आजका सबै कार्यक्रम स्थगन गरी शोक मनाउने जनाएको छ । (रासस)

प्रतिक्रिया