बबईमा नुहाउन गएका दुई किशोरी बेपत्ता


तुलसीपुर, ५ कात्तिक: बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका–२ सिमलकुुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेका छन् । 

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार दुवै जना आज दिउँसो बबईमा नुहाउन गएका थिए । तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने उक्त नदीमा तीन किशोरी सङ्गै गएका थिए । दङ्गीशरण–२ की १३ वर्षीया निरुता बस्नेत भने नदी छेउमै बसेकी थिइन् । दुवैजना बेपत्ता भएपछि उनले स्थानीयवासीलाई खबर गरेको केसीले बताउनुभयो । 

    स्थानीयले खबर गरेपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो । अहिले प्रहरी र स्थानीयले दुवैजनाको खोजी गरिरहेको छ ।  (रासस)
 

प्रतिक्रिया