बझाङ जीप दुर्घटनामा ६ जना मृतक मध्य चारको सनाखत


–रमेश केसी  

बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अन्य मृतक र घाइतेको पहिचान खुलेको छैन । बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो । सु प प्र ०१–००१ च ११७ नम्बरको जीप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जीप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो । अहिले घाइतेलाई जिल्ला अस्पताल सिमखेत ल्याउने काम भइरहेकोसमेत सूचना अधिकारी अवस्थीले बताउनुभयो ।

बझाङ, कात्तिक, २: बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जीप दुर्घटना भएको हो । 

जीप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो । उहाँका अनुसार जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन । अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाईते भएका छन् भन्ने यकिन नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो ।

मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन् । सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाई भएको प्रत्यक्षदर्शीले बताएका छन् ।(रासस) :

प्रतिक्रिया