नेपालगञ्ज विमानस्थलको सुरक्षामा खेलबाड, खेलाँचीमै उडाईन्छ पाँच दर्जन जहाज

बाँके। नेपालगञ्ज विमानस्थलबाट अहिले दैनिक ५० देखि ६०  उडान हुँदै आएको छ। मौसम सफा भएमा हप्तामा करिब २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् तर यति व्यस्त रहने विमानस्थलको एक्स–रे मेसिन भने अझै सञ्चालनमा आएको छैन। 

सामान चेकजाँच गर्न एक्स–रे मेसिन स्थापना तथा जडान गर्न छुट्टै सेड बनाएर राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म व्यवस्थापन हुन नसकेको विमानस्थलका प्रमुख सुरेश खनालले बताए। उनले मेसिन खरिद गरेर आइसकेको छ, प्रयोगमा ल्याउन नसक्नुमा विभिन्न प्राविधिक कारणहरू रहेको बताए। उनले भने, “मेसिन आए पनि प्राविधिक इन्जिनियर आइसकेका छन्, अब मेसिनका लागि आवश्यक सेड बनाउनुपर्ने छ। उक्त सेड निर्माण गरेपछि मेसिन जडान गरेर सुचारु गर्छौं।” तिहारभन्दा अघि मेसिन सञ्चालनमा आउने सम्भावना छैन। 

मेसिन आएको तीन महिना बितिसक्दा पनि प्रयोगमा नआएपछि प्रहरीलाई सुरक्षा जाँचमा समस्या भएको छ। यात्रुहरूका सानातिना सामान चेकजाँच गर्न अहिले विमानस्थलको टर्मिनलमा मात्रै एकवटा एक्स–रे मेसिन छ। कार्गो पठाउने ठाउँमा भने प्रहरीले हातले छामेर र आँखाको भरमा सामान चेकजाँच गरिरहेको छ। विमानस्थलमा खटिएका प्रहरीका अनुसार आफूहरुले सकेसम्म कडाइपूर्वक सामान जाँच गर्दै आए पनि मेसिन अत्यावश्यक रहेको छ। 

कर्णाली र सुदूरपश्चिमका पाँच जिल्लामा उडान हुने नेपालगञ्ज विमानस्थलबाट सामानको ढुवानी अत्यधिक हुने गरेको छ। सागपातदेखि मासुसम्म, चिनीदेखि चामलसम्म फलामका छडदेखि सिमेन्ट र पाइपसम्म हवाईजहाजले बोकेर लैजान्छन्। तर यति महत्वपूर्ण विमानस्थलमा कार्गोलाई जाँच गर्ने मेसिनको सट्टा सुरक्षाकर्मीले हातले छामेर र आँखाले हेरेर सामान पठाउने गरिएको छ। राससका अनुसार, ल्याइएको मेसिन अहिले खुला आकासमा राखिएको जनाइएको छ। 

प्रतिक्रिया