निरन्तरको वर्षाले दशैं पुरै प्रभावित, देशभर असर

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय प्रभावले वर्षा भएको जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको जनाइएको छ। विभागले आज बिहान ६ बजे मौसम पूर्वानुमानको बुलेटिन प्रकाशन गरी यस्तो जानकारी गराएको हो।

नवदुर्गाको प्रसाद लगाउन मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन्। विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जाने समस्यामा परेका हुन्।  
 
राजधानीमा नजिक जान सकिए पनि राजधानी बाहिर सवारी साधन चढेर जानुपर्ने स्थानमा जान नसकिने अवस्था उत्पन्न भएको यात्रुहरु बताउँछन्। देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले धेरै नदीमा बाढी आइरहेको जनाइएको छ। कति नदीमा त बहाव खतराको बिन्दुमा पुगेको सूचना पनि सार्वजनिक भइरहेको छ।

वर्षाका कारण सडकमा आशीर्वाद थाप्न जानेको चहलपहल देखिँदैन। काठमाडौँ उपत्यका बाहिर गएका मानिस विजयादशमीपछि राजधानी आउने गरेकामा वर्षाले रोकिएका छन्।  

करिडोर, मध्यपहाडी र ग्रामिण सडक सबै अवरुद्ध

अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ । पहिराकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो । कतिपय स्थानका सडक भासिएको छ । राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरुद्ध छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार सडकको ठाउँ ठाउँमा पहिरो खसेको छ । खहरे र ग्रामीण क्षेत्रका खोलामा बाडी आएको छ। ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको जैमिनी नगरपालिका–३ का बेद छन्त्यालले बताए।

दसैँका टीका लगाउन आफन्तकोमा जाने अवरुद्ध सडकका कारण समस्यामा परेका छन् । सवारी साधान सञ्चालन नहुँदा सर्वसाधारण पैदलयात्रा गर्दै टीका लगाउन जान थालेका छन् । जिल्लामा सबै ग्रामीण सडक अवरुद्ध भएकाले पोखरा बागलुङ राजमार्गसँग बाहेक बागलुङ सडक सम्पर्कबाट विच्छेद भएको छ । स्थानीय सडक अवरुद्ध हुँदा किसानले तरकारी, दूधलगायत उत्पादन बजार पु¥याउन नपाएको गुनासो गरे ।

प्रतिक्रिया