निरन्तरको वर्षाले जनजीवन प्रभावित, दशैंको चहलपहल खल्लो  

काठमाडौं। केहीदिन यताको निरन्तरको वर्षाले नदीको बहाव उच्च तहमा पुगेको छ भने सडक र राजमार्ग समेत अवरुध्द भएका छन्। काठमाडौं उपत्यकाका सबै नदी र खोलमा पनि पानीको सतह निकै बढेको छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार बङ्गालको खाडीबाट उर्लिरहेकोे न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रम जारी छ। निरन्तरको वर्षाका कारण दशैं मनाईरहेका मानिसलाई निकै प्रभावित भएको छ।

बेँसीसहर–चामे सडक अवरुद्ध

अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। अधिक वर्षा भएपछि यस सडकखण्डमा पहिराले क्षति पु¥याएपछि पूर्णरुपमा यातायात अवरुद्ध भएको उनले बताए।  “यस सडक खण्डअन्तर्गत खोत्रोमा सडकको बीच भागमा नै भल बगेकाले यात्रा गर्न सक्ने अवस्था छैन”, प्रजिअ आचार्यले भने, “योसँगै अन्य स्थानमा पनि कति बेला माथिबाट पहिरो खस्छ भन्ने थाहा नभएकाले यात्रा गर्न जोखिम रहेको छ ।”

पर्यटक आउने अनुकूल मौसम भएकाले सडकमार्फत यात्रा गर्न समस्या हुँदा मनाङ भ्रमणमा आउने पर्यटकले यस विषम् परिस्थितिलाई ध्यानमा राखेर यात्रा नगर्नसमेत प्रशासनले सतर्क गराएको छ।

सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ खण्ड अवरुद्ध

सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए। 

बिहानदेखि अवरुद्ध भएको सडक खुलाउनका लागि सडक विभागको डोजर पठाउन समन्वय भइरहेको छ । अविरल वर्षासँगै खसेको पहिरोका कारण दसैँको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने जानेहरु बीचमै रोकिएका छन् । त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा पनि अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलाइएको छ । मङ्गलबार रातिदेखि अविरल परेको वर्षाका कारण बडादसैँमा आफ्ना मान्यजनबाट टीका लगाउन जानेलाई सास्ती भएको छ । जिल्लाका ग्रामीण भेगमा सवारी साधन चल्न नसक्दा यसपालिको दसैँ कष्टकर बनेको छ ।

 नारायणीमा पानीको बहाव यस वर्षकै उच्च

अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र  देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो । नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ । नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो । एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ ।

यस्तै देवघाट मापन केन्द्रमा पनि पानीको बहाव सात दशमलव चार मिटर पुगेको छ । सात दशमलव तीन मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । देवघाटमा नौ मिटर पानीको बहाव पुगेपछि खतराको सङ्केत मानिन्छ ।  नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ  । पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ । नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी तटीय क्षेत्र जोखिममा परेका छन् ।

चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन उक्त केन्द्रले जनाएको छ । चितवन, नवलपरासीलगायत जिल्लामा रातभर पानी परेकाले  नारायणी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले दिभएको जानकारीअनुसार जिल्लाका सबै सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको छ । 

  राप्ती नदीको बहाव बढ्दो 

मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । 

आज बिहान ६ः३० बजे कुसुममा नदीको सतह छ दशमलव ३२ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ । अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्न सक्ने जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीले बताए। राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी गाउँलगायत स्थानमा बाढी आउँछ । 

जिल्ला विपद् व्यवस्थापन समितिले बुधबार साँझ एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकरले उक्त सूचना जारी गर्दै राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। सूचनामा नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न पनि उल्लेख गरिएको छ । 

अविरल वर्षाले बाँके जिल्लाका विभिन्न स्थान अहिले जलमग्न भएको छ । नेपालगञ्ज, कोहलपुर, खजुरा बजार क्षेत्रका अधिकांश स्थानमा पानी जमेको छ । अहिले पनि वर्षा भइरहेकाले सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ । 

यसैगरी लगातार वर्षाका कारणले नेपालगञ्जको रामलिला मैदानमा बडादसैँको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सव दशहरा मेला स्थगित भएको छ । अविरल वर्षाका कारण बुधबार हुने भनिएको १० औं दिनको रावण बधलगायत कार्यक्रम आजलाई सारिए पनि वर्षा नरोकिएकाले गर्ने या नगर्ने अनिश्चित बनेको सञ्चालक समितिले जनाएको छ । 

समितिका प्रबन्धक भरतकिशोर वैश्यका अनुसार लगातार वर्षा भइरहेको र रामलिला मैदानमा पानी जमेका कारण सबै कार्यक्रम स्थगित गरिएको हो । रामलिला नाटक प्रदर्शनीमा आज ४२ फिटको रावणको पुत्ला दहन गर्ने कार्यक्रम थियो । अहिले रामलिला मैदान पूरै जलमग्न रहेको राससले जनाएको छ । 
 

प्रतिक्रिया