समाचार विश्लेषण

 पूर्व राजाले औंल्याएको के हो त्यो बलियो मियो?

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले ‘बलियो मियो’ मा आबद्धभएर राम्रो र दरिलो नेपाल बनाउन दिव्य चेतना आउनु आवश्यक रहेको भनेर गम्भीर सन्देश दिएका छन्। त्यो बलियो मियो केहो र कोहो भनेर स्पष्ट नगरिएको भएपनि प्रमुख राजनीतिक दलहरुले देश र जनतालाई भरपर्दो नेतृत्व दिन नसकेको प्रति पूर्व राजले कटाक्ष गरेका हुन् भनेर बुझ्न सकिन्छ।

बिजया दशमीको अवसरमा शुभकामनासँगै मिसिएर आएको पूर्व राजाको सन्देशले  ‘सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल नबन्ने’ भनेर राजनीतिक दलहरुलाई घुमाउरो शैलीमा व्यंग पनि कसेको छ।

यसैवर्षको पहिलो दिन आएको नववर्ष शुभकामना सन्देशमा पनि पूर्व राजाले राजनीतिक नेतृत्वप्रति नै असन्तोष प्रकट गरेका थिए। देश र जनताको मूलभूत समस्यप्रति दलहरु उदासिन रहेकामा उनको मुख्य चासो देखिन्छ। नागरिक सरहको जीवनयापन गरिरहेका पूर्व राजाले विगतमा देशदौडाहा गर्दा ठूलो जनसमर्थन र सम्मान पाएका थिए। उनलाई प्रत्यक्ष भेट्न पाएका नागरिकले विभिन्न गुनासाहरु सुनाएका थिए।

यसवीच प्रत्यक्ष भेट्न पुगेका विभिन्न क्षेत्रका मानिससँग पनि पूर्व राजाले देश र जनताका समस्याप्रति उदासिनता बढ्दै गएको भनेर असन्तुष्टि प्रकट गरेका थिए। आज पूर्व राजाले समाजमा सत्य स्थापित गर्ने, सदभाव जागृत गर्ने र दानवीय तात्पर्य गर्ने दशैँ पर्वको आदर्श रहेको भन्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा बडादशैँको शुभकामना दिने सन्दर्भमा पनि ‘नेपाल देशी विदेशीहरूको क्रीडाभूमि भएको जनगुनासो रहेको’ भनेर देशको वर्तमान अवस्थाबारे गम्भीर प्रश्न उठाएका छन्।

पूर्व राजाको भनाई छ, ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्धभएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ।’

‘नेपाल निरन्तर देशी विदेशीहरूको क्रीडाभूमि पनि भयो भन्ने जनगुनासो छ। त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिको पुनःनिर्माणमा ध्यान दिनु देखिन्छ। नेपाललाई फेरि महान बनाउनु परेको छ’, पूर्वराजाको भनाई छ। उनले रोजगारीका लागि दिनहुँ हजारौँको संख्यामा नेपालीहरू विदेशिरहेकोमा समेत चिन्ता व्यक्त गरेका छन्।

पूर्वराजाले हाम्रा कुनै कार्यले देशले कहिल्यै हार्न नहुने बताउँदै, ‘व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको छ। सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन। राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् भनेका छन्।

पूर्व राजाको शुभकामनामा प्रशस्त राजनीतिक सन्देश पनि छिपेको छ। खासगरी प्रमुख राजनीतिक दलहरुले देशलाई नेतृत्व दिन नसकेको, परराष्ट्र नीतिमाथि खेलबाड गरेको, जनताले अभिभावकीय भूमिका कतैबाट नपाएको र भ्रष्टाचार र अनिमियतता दिनदिनै बढ्दै गएको जस्ता प्रश्नहरु पूर्व राजाले उठाउँदै आएका छन्। 

 

प्रतिक्रिया