देबोरा अधिकारीलाई ‘तेस्रो कौसी क्वीन’ को उपाधि

काठमाडौं। ‘तेस्रो कौसी क्वीन–२०७९’ को उपाधि ललितपुर कुसुन्तीकी देबोरा अधिकारीले हात पारेकी छन् । प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘तेस्रो कौसी क्विन–२०७९’ को ताज अधिकारीले पहिरिएकी हुन्।

आइतबार बानेश्वरस्थित होटल अर्यालमा आयोजना गरिएको कार्यक्रममा दोस्रो कौसी क्वीन राधा ढकालले ताज पहिराइ दिएकी थिइन्। साथमा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, सचिव डा।गोविन्द प्रसाद शर्मा, कृषि विकास बैङ्कका  सहाय प्रमुख कार्यकारी अधिकृत बाबुकाजी थापा, बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। शरण कुमार पाण्डे लगायतले उनलाई प्रमाणपत्र, खादा लगाएर सम्मान गरेका थिए।
 
ताजसँगै उनले पुरस्कार पनि पाएकी छन् । उक्त पुरस्कार भने उनको कौसी खेती हेरेर आवश्यक सामाग्री पछि उपलब्ध गराइने आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए। 

त्यसै गरी, ‘फस्ट रनर–अप’ कपनकी कमला भट्टराई, सेकेण्ड रनर अप कुशेश्वरकी जेष्ठ नागरीक ७३ वर्षकी कृष्ण मैया अधिकारी भएकी छन् । त्यस्तै चाँगुनारायण नगरपालिकाकी याम कुमारी मैनाली थर्ड रनरअप तथा कपनकी सरस्वती चौलागाईँ ‘फोर्थ रनर अप’ भएकी छन् । त्यसैगरी सान्तिनगरका पूर्ण प्रसाद श्रेष्ठलाई विशेष सम्मान गरिएको छ । kausi queen1

त्यसैगरी अम्बाको बोटमा उद्घाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूलाई मायाको चिनो स्वरूप गमलामा रोपिएको फलफूलका बिरुवा पनि प्रदान गरिएको थियो । 

प्रतियोगितामा देशभरबाट २५ जना भन्दा बढीको सहभागिता रहेको थियो। लगातार दोस्रो र तेस्रो कौसी क्वीन प्रतियोगिता सफल भएसँगै ‘तेस्रो कौसी क्वीन २०७९’ प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष श्रेष्ठले बताए। 

बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन गर्ने तथा कौसी खेती गरिरहेकाहरूलाई थप ऊर्जा प्रदान गर्ने हेतुले यस प्रतियोगिता आयोजना गरिएको हो । 

 पछिल्लो समय ठुला ठुला बिल्डिङहरूले भरिएको सहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन मुस्किल छ । यस्तो अवस्थामा जमिन नहुनेले गमला, जार, बाटा, माछाको क्यारेटमा माटो भरेर कौसी मै तरकारी फलाउन सक्छन् । धेरैले कौसी खेतीबाट नै जीविकोपार्जन गरिरहेका छन् । आफ्नै कौसीमा तरकारी तथा फलफूल खेती गर्दा विषादीको पनि डर नहुने तथा महँगीको पनि भार नहुने हुँदा कौसी खेती प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए । 

kausi queen2

प्रतियोगिताको निर्णायकहरूमा इजरायली राजदूत खनान गोदेर,काठमाडौँ महानगरपालिकाका वातावरण तथा कृषि विभागकी उप(निर्देशक सरिता राई,  कृषि विकास बैङ्कका  सहायक प्रमुख कार्यकारी अधिकृत बाबुकाजी थापा, गत सालको कौसी क्वीन राधा ढकाल लगायत ७ जना रहेका थिए । 

प्रतियोगितामा सहभागी हुनकालागि सहभागीहरूले कौसीमा रोपिएका तरकारी तथा फूलबारीमा काम गर्दै १० वटा फोटो र बढीमा १० मिनेटको भिडियो हलोखबरको इमेलमा पठाउनु पर्ने थियो। त्यसपछि कौसी खेतीमा भागलिनेहरुको फोटो हलोखबर डटकमको फेसबुक पेज र यूट्युव च्यानलमा पोस्ट गरिएको थियो। जसमा ६० प्रतिशत लाइक, सेयर, कमेन्टको आधारमा र ४० प्रतिशत निर्णायक मण्डलले नम्बर प्रदान गरेका थिए।
 

प्रतिक्रिया