आख्याकार प्रधान दम्पत्तिको यसरी गरियो नागरिक अभिनन्दन

काठमाडौं। नेपाली आख्यानमा प्रशिध्दी कमाएका स्रष्टा परशु प्रधानको सार्वजनिक अभिनन्दन गरिएको छ। प्रधानलाई दोसल्ला र दुबोको मालासहित शनिबार काठमाडौंमा आख्यानकार अभिनन्दन गरिएको हो। साथमा उनकी पत्नी साहित्यकार कल्पना प्रधानलाई पनि माला र दोसल्लाले सम्मान गरिएको थियो।

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा समाजसहित २९ साहित्यिक संस्थाले आख्यानकार प्रधानलाई अभिनन्दन गरेका हुन्। कार्यक्रममा अभिनन्दित स्रष्टा प्रधानले आफू संघर्ष गर्दै यहाँसम्म आइपुगेको सुनाए। आफूलाई समाजसहित साहित्यिक संघ–संस्थाहरूले सार्वजनिक अभिनन्दन गरेकामा औधी खुसी लागेको उनले बताए।

 सामूहिक अभिनन्दनपत्रमा प्रधानको साहित्यिक जीवनका सबै आयामको चर्चा गरिएको छ।

साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले प्रधानसँगको मित्रताको चर्चा गरेका थिए। उनले उमेरका हिसाबले आफू जेठो भए पनि लेखनका हिसाबले परशु प्रधान आफूभन्दा निकै जेठो र अग्लो भएको सुनाए।

नेपाल स्रष्टा समाजको स्थापनाकारहरूमध्येका एक साहित्यकार प्रधान एउटा सिंगो संस्थाका रूपमा खडा भएको समाजका संरक्षक पवन आलोकले बताए। अभिव्यक्ति द्वैमासिक पत्रिकाका प्रधानसम्पादक समेत रहेका आलोकले भोजपुरको विद्यालयमा पढ्दा आफू प्रधानको विद्यार्थी भएको स्मरण गरे। प्रधानको साढे ६ दशकको साहित्यिक साधना हरेकका लागि प्रेरणादायी भएको उनले उल्लेख गरे ।

साहित्यकार श्रीओम श्रेष्ठ रोदनले ३०० भन्दा बढीको संख्यामा कथा लेखिसकेका आख्यानकार प्रधानमाथि आफूले लेखेको निबन्धको अंश वाचन गरे।

स्रष्टा समाजसहित अभिव्यक्ति द्वैमासिक, रचना द्वैमासिक, जनमत मासिक, उपन्यास समाज नेपाल, शंकर लामिछाने प्रतिष्ठान, दायित्व वाङ्मय प्रतिष्ठान, गुञ्जन साहित्य समूह, नारी स्रष्टा समाज, वासु शशी स्मृति परिषद्, जरा फाउण्डेसन, भूगोल साहित्य समाज, कल्पतरु मासिकलगायत साहित्यक संस्थाले आख्यानकार प्रधानको सार्वजनिक अभिनन्दन गरेका हुन्।

कवि, साहित्यकारहरूको बाक्लो जमघट रहेको कार्यmक्रममा विधान आचार्य, देविका तिमिल्सिनालगायत साहित्यकार प्रधानका बारेमा चर्चा गरेका थिए।

प्रतिक्रिया