विशेष सम्पादकीय

देशव्यापी बन्यो डेंगी महामारी, सरकार उदासिन!

यतिबेला देशभर नै डेंगीको संक्रमण बढ्दै गएको छ। हरेक दिन यसको संख्या बढ्दै गएको र मृत्यु दर समेत उकालो लागेको छ। डेंगीको संक्रमणले अत्यधिक असर गरिसक्दा पनि सरकारले यसलाई नियन्त्रण गर्न अत्यावश्यक तयारी गरेको देखिँदैन। केन्द्र सरकारले स्वास्थ्य मन्त्रालय मातहतका निकायलाई डेंगी संक्रमण नियन्त्रण गर्न कुनै निर्देशन समेत नदिएको सम्बन्धित अधिकारीहरु बताउँछन्। सरकारी उदासिनता आपत्तिजनक कुरा हो। त्यसैगरी प्रदेश सरकार र स्थानीय निकायहरु समेत अति जरुरी कर्तव्य पन्छाएर राजनीतिक बिषयमा अल्झिरहेका देखिन्छन्। यो जनताप्रति जिम्मेवार हुन नसकेको अवस्था हो।

dengue-dhaka_20190813152209 

यो अवस्था देखेर नै हुनुपर्छ ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौं उपत्यकालगायत देशभर डेंगी संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न माग गरेको छ। (ईडीसीडी) ले यसप्रति ध्यानाकर्षण गराउँदै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ। नियन्त्रणका लागि ¥यापिड एक्सन प्लान बनाउन आवश्यक भैसकेको जानकारी दिएको छ। ईडीसीडीले झक्झक्याए पनि स्वास्थ्य मन्त्रालय भने यतिञ्जेल मौन नै देखिन्छ। महामारी हेर्ने आधिकारिक निकाय ईडीसीडीले  अति जरुरी कार्य भनी सूचना दिएपनि जननिर्वाचित निकाय र सरकारी संयन्त्रहरु यसप्रति उदासिन देखिएका छन्। यो आफैंमा आश्चर्यजनक र आपत्तिको बिषय हो।

मनसून सकिनै लाग्दा सुरु भएको डेंगीको संक्रमणले देशका सबैजसो भूभाग प्रभावित पारिसकेको छ। पछिल्लो जानकारी अनुसार १७ हजार ४ सय ९४ मानिस डेंगीबाट संक्रमित भैसकेका छन्। २१ जनाले त यसको असरबाट ज्यान नै गुमाईसकेका छन्। उपत्यकाका तीन जिल्लामा मात्रै कुल संक्रमणको ५८.६७ प्रतिशत संक्रमित रहेको ईडीसीडीले जनाएको छ। काठमाडौंमा पछिल्लो १९ दिनमा सबैभन्दा बढी ३ हजार ९ सय १० जनामा संक्रमण पुष्टि भएको छ। यो तथ्यांकले नै संकट कति बढिसेकेको छ भन्ने स्पष्ट तस्बिर देखाएको छ।

ईडीसीडीका अनुसार ललितपुरपछि सबैभन्दा बढी डेंगी संक्रमित काठमाडौं भएको छ। काठमाडौं महानगरपालिका सबैभन्दा बढी संक्रमित छ। ललितपुरमा सेप्टेम्बरको १९ दिनमा ३ हजार २ सय २० मा संक्रमण पुष्टि भएको थियो। तर काठमाडौं महानगरपालिकाले संक्रमण नियन्त्रण गर्न कुनै ठोस कदम चालेको छैन। उपत्यका अरु नगरले पनि औपचारिकता निर्वाह मात्र गरेको देखिएको छ। उपत्यकाका नगरहरुले समन्वयात्मक तरिकाले डेंगुको संक्रमण नियन्त्रण गर्न आपतकालिन कदम चालिहाल्नुपर्ने हो। तर यस्तो चासो रहेको पाईंदैन।

अस्पतालहरुमा संक्रमित मानिसको चाप दिनदिनै बढ्दै गएको देखिन्छ। काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनेमध्ये ९० प्रतिशत डेंगीका बिरामी रहेको अस्पतालले जनाएको छ। अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हरेक घरमा डेंगीका बिरामी रहेको भन्दै अझै जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्। स्वास्थ्यकर्मीहरूले डेंगी नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने सुझाव दिइरहँदा सरकारले भने पर्याप्त पहल गर्न नसकिरहेको विशेषज्ञहरुको गुनासो छ।

डेंगुको संक्रमणले वयस्क मानिसको समेत ज्यान लिएकाले यो खतराको घण्टी भएको उनीहरुको भनाई छ। अत्यावश्यक तयारी सहित लामखुट्टेको प्रजनन स्थल खोजेर नष्ट नगरे पहिलेको दाँजोमा मृत्यु संख्या नसोचेको किसिमले बढेर जाने विज्ञहरुको भनाई छ। आगामी डेढ महिनासम्म संक्रमण जारी रहने बताईएको छ।

ईडीसीडीको तथ्यांकअनुसार जुलाईअघि देशभर एक सयभन्दा कम संक्रमित थिए भने जुलाईमा ७ सय ३०, अगस्टमा ३ हजार ७ सय ८ र सेप्टेम्बरको १९ दिनमा १३ हजार ८ सय २९ थपिए। सन् २०२२ को जनवरीदेखि सोमबारसम्म देशभर १७ हजार ४ सय ९४ जनामा संक्रमण देखिएको हो। उपत्यकासहित मकवानपुर, दाङ, रूपन्देही, चितवन, गुल्मी, दार्चुला र काभ्रेलगायत जिल्ला डेंगी संक्रमणबाट बढी प्रभावित छन्।   मकवानपुरमा १ हजार ६ सय १०, दाङमा १ हजार १ सय ४९, रूपन्देहीमा ६ सय ७९, चितवनमा ४ सय २९, गुल्मीमा २ सय ९२, दार्चुलामा १ सय ९२ र काभ्रेमा १ सय ५६ जनामा संक्रमण देखिएको छ।

डेंगी नियन्त्रणको एकमात्र उपाय लामखुट्टेको बासस्थान खोजेर प्रजननस्थल नष्ट गर्नु नै हो भनेर विज्ञहरुले सचेत गराउँदै आएका छन्। तर स्थानीय निकायहरुले जनचेतनाका अभियान समेत सञ्चालन गरेका छैनन्। केन्द्रीय सरकार, स्थानीय निकायमा पनि महानगर र उपमहानगरपालिकाहरु, अरु स्थानिय निकाय सहित पुरै सरकारी संयन्त्रहरु परिचालन गरेर भएपनि तत्कालै डेंगु नियन्त्रण अभियान चलाउन आवश्यक भएको छ। उस्तै परे स्वास्थ्य संकटकाल लगाएर भएपनि नागरिकको जीवन रक्षाको काममा जुट्न सरकार पछि पर्नु हुँदैन।

तर विडम्बना त के छ भने सरकारमा संलग्न गठबन्धनका दलहरु र अरु दल समेत आगामी निर्वाचनकै कार्यक्रममा मात्र केन्द्रित देखिन्छन्। निर्वाचन कार्यतालिका उनीहरुका लागि महत्वपूर्ण बिषय हो तर यता महामारीबाट पीडित नागरिकको समस्या समाधान गर्न पनि उनीहरु उत्तिकै जिम्मेवार छन्। चाडपर्वको पूर्व सन्ध्यामा बढ्दै गएको डेंगु संक्रमण नियन्त्रण गर्न ढिलाई भएमा मानवीय क्षति बढ्ने खतरा विज्ञहरुले औंल्याईसकेका छन्। चाड पर्व मनाउन गाउँ घर फर्किन नसक्ने अवस्था आयो भने त्यस अवस्थालाई समेत ध्यानमा राखेर सरकारले अत्यावश्यक सबै उपाय अपनाएर डेंगु नियन्त्रणको काममा सम्पूर्ण ध्यान केन्द्रित गर्न आवश्यक छ। यसमा नागरिक तहको सहभागिता रहनेगरि अभियान नै सञ्चालन गर्दा नियन्त्रणको काम अझ बढी प्रभावकारी हुने छ।
 
 

प्रतिक्रिया