मारिएका लाल माेहम्मद नक्कली नाेटका कारोवारी

काठमाडौँ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा साेमबार साँझ मारिएका लाल माेहम्मद नक्कली भारतीय रुपैयाँ काराेबार मुद्धामा ९ बर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति भएको पहिचान खुलेकाे छ। 

उनलाई कर्तब्य ज्यान मुद्धा तथा जाली नाेट काराेबारमा २०६४ साल साउन ९ गते ९ वर्ष जेल सजाय सुनाइएको थियो। उनी ८ बर्ष ७ महिना जेलमा बसेर २०७३ जेल २५ गते केन्द्रीय कारागारबाट छुटेका थिए। उनी लाल माेहम्मद, लाल अन्सारी र लाल थापाजीकाे उपनामले चिनिन्थे। 

उनको व्यक्तिगत नाम लाल माेहम्मद अन्सारी हो। उनी जेल मुक्त भएपछि काठमाडौंमा बस्दै आइरहेका थिए। उनको घर सर्लाहीको गौडैता नगरपालिका-१० मनहरवा हो। सोमबार साँझ गोली लागेपछि सुरुमा उनलाई शंखरापुर अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। यही उनको निधन भएको हो। उनलाई बा ६ च ५१५२ नम्बरको मोटर चढेर आएका व्यक्तिले गोठाटारको जम्बुडाँडामा रहेको उनकै गार्मेन्ट फ्याक्ट्रीअघि गोली प्रहार गरेका थिए। 

हत्यामा भारतीयहरुको संलग्नता रहेको हुनसक्ने प्रहरीले आशंका गरेका छ। हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले अझसम्म पक्राउ गर्न सकेको छैन। उनले तीन दिनअघि आफूलाई सुरक्षा खतरा भएको भन्दै सुरक्षा माग गरेका थिए। शनिबार गोकर्णेस्वरस्थित जम्मुडाँडा प्रहरी चौकीमा आफूलाई सुरक्षा खतरा भएको भन्दै निवेदन दिएको प्रहरी स्रोतले जानकारी दिएको छ। 

प्रतिक्रिया